तित्याङमा सुन्तला र तरकारी खेती प्रर्बद्धन


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले यस चालु आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रर्बद्धन गर्ने कार्यक्रम ल्याएको छ ।

कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा महत्वपूर्ण उपलव्धी हासिल नभएको भन्दै यस वर्ष शसर्त अनुदानमा आएको रु. २० लाख बजेटले बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती मात्रै पर्बद्धन गर्न थालिएको छ ।

वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फर्म मार्फत चालु आर्थिक वर्षमा रु. ३० लाख बजेटबाट मकैबाली, सुन्तला र तरकारी खेती पर्बद्धन गर्ने कार्यक्रम थालेको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र तरकारी खेतीका लागि रु. २० लाखको कार्यक्रम स्विकृत भएर आएकाले कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आव्हान गरेको बागलुङ नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो । केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रर्बद्धनका लागि रु. १० लाखको कार्यक्रम हुनेछ ।

“यो मकै, सुन्तला र तरकारी खेती प्रर्बद्धनका लागि शसर्त अनुदानको कार्यक्रम स्थान तोकेर आएको कार्यक्रम हो, तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रर्बद्धन र रु. १० लाखमा तरकारी खेतिका लागि प्रविधि सहितको हाइटेक टर्नेल र थोपा सिचाईको काम गरिन्छ” कृषि शाखा प्रमुख केसीले भन्नुभयो “तित्याङमा सुन्तला खेति राम्रो भएपनि प्रर्बद्धन हुन नसकेको रहेछ, यस वर्ष त्यहाँका किसानको सुन्तला बगैचा व्यवस्थापन, उपचार, नयाँ बगैचा स्थापना र सुन्तला नर्सरी स्थापना गर्नेगरी प्रस्ताव आह्वान गरेका छौं ।”

पछिल्लो समय बागलुङ नगरपालिकाले उन्नतजातको मकै खेती प्रर्बद्धन गरिरहेको छ । यस वर्ष मकैको बिउ देखि यन्त्र उपकरण लगायतका कार्यक्रमका लागि रु. १० लाख बजेट रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रर्बद्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाको भनाई छ । तित्याङमा २०० बोटका सुन्तला बगैचा भएका किसानलाई प्रोत्साहन समेत गर्ने योजना रहेको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले बताउनुभयो ।

“सुन्तला राम्रै फल्ने स्थान हो तित्याङ, बागलुङ बजारमा डोकोमा तरकारी अधिकांश हाम्रै वडाको भित्रन्छ, तर कृषकलाई प्रोत्साहन गर्न नसकेको अवस्था रहेछ” वडा अध्यक्ष थापाले भन्नुभयो “तित्याङमा पछिल्लो समय बगैचा व्यवस्थापन हुन नसकेको अवस्था हो, नगरपालिकाले ल्याएको कार्यक्रमबाट प्रोत्साहित हुनेमा आशावादी छु ।”

पछिल्लो समय तित्याङमा समेत सुन्तला खेतीमा विस्तार भइरहेको छ । बागलुङका क्रियाशिल पत्रकार गणेश पौडेलले आफ्नो धानखेतमा दुई वर्ष अघि लगाउनुभएको २० रोपनी जग्गामा ४५० विरुवा अहिले हुर्किरहेको बताउनुभयो । पौडेलको संयुक्त परिवारले धान खेतमा भन्दा सुन्तला खेतीमा फाइदा देखेपछि सुन्तला बगैचा स्थापना गरेको बताउनुभयो ।

तित्याङमा तरकारी खेतीका लागि चार वटा हाइटेक टर्नेल र सिचाईको कार्यक्रमका लागि यो वर्ष रु.१० लाख खर्च गरिने छ । जसमध्ये यन्त्रिकारण समेत वितरण गरिने छ ।

संघीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेति प्रर्बद्धनमा नगरपालिका मार्फत बजेट विनियोजन गरेको छ । तित्याङमा झण्डै पाँच हजार विरुवाले सुन्तला उत्पादन गरिरहेको कृषि शाखाको तथ्याङले बताउछ । नगरपालिकाले पछिल्लो समय बजार क्षेत्रमा कौशी खेति प्रर्बद्धन गर्ने कार्यक्रम ल्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *