महिलालाई सर्वोत्तम पीठो उत्पादन तालिमपछि सामग्री हस्तान्तरण

अमृत बास्कुने, म्याग्दी
हिमाली जिल्ला म्याग्दीका ग्रामिण भेकका महिलाहरुलाइ घरमै गुणस्तरीय सर्वोत्तम पिठो उत्पादन तालिम पश्चात सामाग्री हस्तान्तरण गरिएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम पछि सर्वोत्तम पिठो उत्पादन गर्नका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो । महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको थियो । तालिम पश्चात महिलाहरुलाइ आवश्यक पर्ने सामग्रीहरु पनि हस्तान्तरण गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका म्याग्दी र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग एवम् सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा अन्नपूर्ण–६, घारमा ७ दिन तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा अन्नपुर्ण गाउँपालिका–६, घारका आमा समूह र कृषक समूहमा आबद्ध ३३ जना महिलाहरुको सहभागिता थियो ।

पुस १ गतेबाट ८ गते सकिएको तालिमको कृषि तथा वन विज्ञान विश्वविद्यालय पोखराका सहायक प्राध्यापक अर्जुन सुवेदी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्मा, सुआहारा कार्यक्रमका पोषण विज्ञद्वय राजेन्द्र अधिकारी, बालकुमारी पुनलगायत सरोकारवाला निकाय कार्यालयबाट सहजीकरण गरिएको थियो । तालिममा प्रशिक्षकहरुले सर्वोत्तम पीठो उत्पादनको तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरण लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमका अवसरमा प्रशिक्षकहरुले उद्योग दर्ता र सञ्चालन प्रक्रिया, जाम निर्माण, उत्पादित तरकारीको सुकुटी बनाउने तरिका, कुकिज तथा लड्डु बनाउने विधिलगायत विषयमा पनि सहजीकरण गर्नुभएको थियो । तालिमको अवसरमा स्थानीयस्तरमा उपलब्ध मकै, गहुँ र भटमासको सम्मिश्रण गरेर सर्वोत्तम पीठो बनाई कुकिज र लड्डु समेत बनाएर प्रदर्शन गर्नुका साथै मुक्तिमार्ग माध्यमिक विद्यालय घारका बालबालिकाहरुलाई खुवाइएको थियो । उक्त तालिम समापनको अवसर पारेर सुनौलो हजार दिनका महिलाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको थियो ।
घारमा सर्वोत्तम पीठो उत्पादन गर्नका लागि उद्योग स्थापना र सञ्चालनमा आवश्यक पर्ने तौल तथा सिलप्याक मेसिन, ड्रम, टिनको बाकस, कराई, बाल्टिन, स्टिल चम्चा, चाल्ने भाँडो, त्रिपाल, प्याकिङ प्लाष्टिकलगायत औजार सामग्रीहरु कार्यक्रमबाट हस्तान्तरण गरिएको थियो भने गाउँपालिकाले कुटानी गर्ने विद्युतीय मिल उपलब्ध गराएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दैै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरु व्यावसायिक रुपमा उद्यमी बन्नुपर्ने र यसका लागि पालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *