ट्राफिक व्यवस्थापनका लागि जेब्रा क्रसिङ, लाईन मार्किङ

रोहन जिसी, बागलुङ

साँघुरा सड्क, बढ्दो सवारी चाप, पैदल यात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजार भित्र छोटो दुरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ ।

सवारी चालक मात्र होइन् सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदल यात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिक जसो हुने साना ठुला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँ नयाँ तरिका अपनाई रहेको छ । सडकको एक तर्फ मात्र आलो पालो पार्किङ गर्ने नियम बनाएको ट्राफिक प्रहरी यतिबेला जेब्रा क्रसिङ तथा लाईन मार्किङको काममा व्यस्त छ ।

बागलुङ बजारमा बागलुङ नगरपालिकाको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिचको समन्वयमा जेब्रा क्रसिङ तथा लाईन मार्किङको कार्य चलिरहेको छ । २०७४ सालमा बागलुङका सक्रिय युवाहरुको ग्रुप युथस अफ बागलुङ नामक टोलीले बजारका विभिन्न भिडभाड बढ्ने विभिन्न टोल तथा स्थानमा मार्क लगाएका थिए । त्यस यता जेब्रा क्रसिङ तथा लाईन मार्किङका कार्यमा सरोकारवाला निकायले चासो दिएनन् ।

बढ्दो ट्राफिक जाम, सवारी दुर्घटनालाई रोक्न पछिल्लो समय व्यस्त चोक तथ टोलहरुमा लाईन मार्किङको काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक राजकुमार के.सीले जानकारी बताउनुभयो । के.सीले जिल्लामा जाम तथा पार्किङको समस्या आएपछि बजारमा बाटो साँघुरो हुने, पैदलयात्रीलाई असहज हुने र व्यापारीहरुलाई व्यापारमा समस्या रोक्नको लागि मार्किङ र जेब्रा क्रसिङको जोड दिएको बताउनुभयो ।

सडक सुरक्षा व्यवस्थामा सहजताका लागि लगाइएका लाईन मार्कलाई प्रयोगमा ल्याउन विभिन्न टोलमा, शैक्षिक संस्थाहरुमा लगायतका स्थानमा पार्किङ व्यवस्थापन सम्बन्धी, दुर्घटनाको न्युनीकरणका विषयमा ट्राफिक शिक्षा कार्यक्रम चलाईएको उहाँको भनाई छ ।

बागलुङ नगरपालिकाको आर्थिक प्राविधिक र सडक डिभिजन कार्यालय बागलुङको समन्वयमा थालिएको जेब्रा क्रसिङ तथा पार्किङ लाईन मार्क सदरमुकामका विभिन्न १४ वटा टोल तथा चोकका चाक्लो बाटोमा गरिने बागलुङ नगरपालिकाका ईन्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । नगरपालिकाले दशरथ कन्सट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौतामा कार्य शुरु गरिएको इन्जिनियर गिरीको भनाई छ ।

बागलुङ बजारको समिक्षालय चोक, बाघको शालिक, धौलागिरी चोक, जीप पार्क, शिवधाराचोक, आवारोड, महेन्द्रपथ, हल्लनचोक लगायतका १४ स्थानमा बाटोको लम्बाई हेरेर जेब्रा क्रसिङ तथा एक तर्फी र दुई तर्फी पार्किङ लाईन मार्किङको काम सकिएको छ ।

नगरपालिकाले सडकमा लाईन मार्कको लागि पाँच लाख रुपैंया बजेट छुट्टाएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले थप विभिन्न स्थानमा लाईन मार्क गर्ने योजना गराएको र प्रत्येक महिनामा कम्तिमा १ पटक लगाइएका लाईन मार्कलाई सफा गरिने सापकोटाको भनाई छ ।

सामाजिक सुव्यवस्था, सडक सुरक्षा र दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले पछिल्लो समय बजार क्षेत्रमा लाईन मार्कका कार्य भएपनि प्रयोगमा नआउनु दुखद भएको सवारी चालक कमल गन्धर्वले बताउनुभयो । उहाँले ट्राफिक शिक्षाको कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *