शैक्षिक रुपान्तरणको अभियान संचालन गरौं : सुवेदी

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले सामुदायिक विद्यालयको शिक्षालाई थप गुणस्तरीय बनाउन अब शैक्षिक रुपान्तरणका अभियान संचालन गर्न आवश्यक रहेको बताउनु भएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयको ४२ औैैं वाषिकोत्सव समारोहमा बोल्दै सुवेदीले पछिल्ला समयमा सामुदायिक विद्यालयको शिक्षाप्रति केही समस्याहरु देखिन लागेको बताउनुभयोे ।

उहाँले शिक्षामा भएका समस्याको समाधान र शैक्षिक विकासका निम्ती तिन तहकै सरकार लाग्न आवश्यक रहेको बताए । उनले विद्यालयको शैक्षिक विकासका समाज र समुदाय अलमलमा पर्न नहुने कुरामा जोड दिए ।

सुवेदीले सरकारले संघीय शिक्षा ऐन छिटै ल्याएर दरबन्दी अनुसारको शिक्षकको व्यवस्थापन गर्न पनि जरुरी रहेको हुँदा ऐन ल्याउनका लागि संघिय सरकारलाई सबै तहबाट दबाब सिर्जना दिनुपर्ने बताउनुभयो ।

“हाल ५४ हजार दरबन्दी अपुग छन्, भएको दरबन्दीमा पनि शिक्षक पद पूर्ति गर्न कठिनाई भएको छ” सुवेदीले भन्नुभयो–“हामीले आधारभुत तहको शिक्षा निःशुल्क भनिरहँदा आम विद्यार्थीका लागि शिक्षक सिकाईमा नै ध्यान दिन सकेनौै भने शिक्षामा भएको समस्याको समाधान कसरी हुन्छ ?, त्यसैले शैक्षिक गुणस्तर सुधारका निम्ती सवैले ध्यान दिन जरुरी रहेको छ ।”

सुवेदीले स्थानीय सरकार सामु आधारभुत सेवाको रुपमा नजिकका कामहरु नजिकका सरकारले गर्नुपर्छ भन्ने मान्यताका साथ माध्यामिक तह सम्मको शिक्षा र आधारभुत स्वास्थ्य सेवालाई स्थानिय तह मातहतमै राखिएको हुँदा यसमा स्थानिय तह अलमलमा पर्न नहुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको विकासका निम्ती स्थानिय तहले साझेदारी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयका उपसचिव तथा विद्यालयका संरक्षक डिल्लीराम रिजाल, बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल वडा नम्बर १४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक र शिक्षक दुवैको उत्तिकै भूमिका हुने भन्दै आफ्ना नानिबाबुको पढाई प्रति अभिभावकले पनि ध्यान दिन जरुर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष टेकबहादुर रोका, नेकपा माओबादी केन्द्रका अध्यक्ष रेशमबहादुर खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामप्रसाद अधिकारी शिक्षाप्रेमी रामबहादुर खत्री, चन्दादाता आनन्द प्रकाश शर्मा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भवानी प्रसाद रिजाल, विद्यालयमा स्थापना भएको प्रतिभा पुरस्कारका संरक्षक गणेश रिजाल लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक लक्ष्मीकान्त पौडेलले विद्यार्थीको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हाल २२० जना विद्यार्थी रहेका छन् । विद्यालयको संचालन गरेको आर्थिक अभियान अन्तरगत एकै सातामा मात्र २० लाख रुपैयाँ संकलन भएको छ ।

कार्यक्रममा २ लाख रुपैयाँभन्दा बढि सहयोग गर्ने चन्ददाता शिव प्रसाद रिजाल र चन्द्रबहादुर खत्री सहित अन्य चन्दादातालाई सम्मान गरिएको विद्यालयका शिक्षक परशुराम रिजालले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न विधाका एक दर्जनभन्दा बढि प्रतिभा पुरस्कार वितरण गरिएको थियो ।

वार्षिकोत्सव मुल समारोहकै अवसरमा विद्यालयका शिक्षक परशुराम रिजाल, ठाकुर प्रसाद रिजाल, गोमा केसीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम रिजालको अध्यक्षता, शिक्षक अमृता रिजाल, र विद्यार्थी द्धय आकंक्षा विका र संदिप रिजालको स्वागत र शिक्षक द्धय परशुराम रिजाल र ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *