३७ वर्षे जागिरे जीवन समेटेको पुस्तक ‘विसङ्गत अभिरुचि’ सार्वजनिक

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–७ का स्थायी वासिन्दा कृष्ण बानियाँले आफ्नो ३७ वर्ष लामो निजामती सेवाको अवधिमा भोगिएका अनुभवहरुको संगालो विसङ्गत अभिरुचि सार्वजनिक गर्नुभएको छ ।

बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजना गरेको एक समारोहबीच पुस्तक विमोचन गरिएको हो । लेखक कृष्ण बानियाँको पुस्तक विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम छोटाले जागिरे जीवनको भोगाइलाई सङ्ग्रह गरी प्रकाशन गरेकोमा लेखकलाई आभार प्रकट गर्नुभयो ।

सरकारी जागिरको समय पुरा गरी बाँकी समय लेखन कार्यमा लगाएको हुँदा यसले साहित्यको विकासमा समेत सहयोग पुग्ने बताउँदै लेखक बानियाँलाई आगामी दिनमा पनि लेखनको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मदन पुरस्कार बिजेत महारानी पुस्तकका लेखक पूर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले पुस्तकमा कृष्ण बानियाँले आफू जागिरमा रहँदा गरेको संघर्ष र भोगेका दुःख, कठिनाइलाई यथार्थ रुपमा बाहिर ल्याएको बताउनुभयो । संस्मरण कृति विसङ्गत अभिरुचि आफ्नो समाप्तिपछि पनि जागिरे जीवनको भोगाई प्रमाणको रुपमा रहने भन्दै यसले भावी पुस्तालाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो । धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति बागलुङका अध्यक्ष डिनबहादुर थापाले पुस्तकले अरुलाई पनि लेखन कार्यमा उत्साह जगाउने बताउनुभयो ।

लेखकले ३७ वर्षे जागिरे जीवनका दुःख, कष्ट, पीडा र भोगाइलाई पुस्तकमार्फत उतारेको जानकारी दिनुभयो । उहाँले विसङ्गत अभिरुचि संस्मरणभित्र २८ वटा छन्दमा जागिरे जीवनको भोगाई उल्लेख गरेको बताउनुभयो । पुस्तकमाथि समालेचक साहित्यकार रामप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो । शिखा बुक्स बागबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रति मूल्य चारसय २५ रुपैयाँ तोकिएको छ ।

बानियाँद्वारा लिखित पुस्तकभित्र तक्मेलीहरुको बहुदल प्रेम, गलेश्वर मेला, बत्तीमूनि अँध्यारो, पराजित आन्दोलन, नक्कली स्रेस्ता, हाकिमको हैकम, अन्तरवार्ता, कीर्ते रजिष्टेशन, विचलित मन, नागरिकताको मोल, कर्तव्यबोध, यज्ञ औचित्य, मार्ने धम्की, आकाशमा हराउँदा शीर्षकका लेखहरु समावेश गरिएको छ ।

यसैगरी विसङ्गत अभिरुचि, धुन्चेको रुन्चे बसाई, महङ्गो सरुवा, ज्यानको जोखिम, म्याग्दीको भूमि समस्या, भालुको रिस खन्युँमाथि, नेताहरुको नियत, राष्ट्र सेवाको मूल्य, तावाको माछो भुङ्ग्रोमा, विद्रोहीको विवेक, परित्यज्य विभूषण, नवलपुरको नयाँ वस्ती, अवकाश अनुभूति र रहलपहल स्मृतिका तरेलीहरुको शीर्षकमा लेखहरु उल्लेख गरिएको लेखक बानियाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *