आदर्श अनलाइन, म्याग्दी
मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको प्रथम साधारणसभाबाट तिलकुमारी रानाको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन हुनुभएको छ ।
उपाध्यक्षमा ज्ञानुकुमारी केसी, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा सङ्गीता अधिकारी र सहसचिवमा हिरा जिसी बानियाँ चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरुमा चन्द्रकला बानियाँ, बालकुमारी पुन, राजकुमारी विश्वकर्मा, सरस्वती नेपाली, छवि पूर्जा र मनिता रायमाझी चयन भएको मिलन महिला बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
सहकारीको लेखा समिति संयोजकमा ज्योती लामिछाने, सदस्यमा भगवती पौडेल र धनदेवी बोगटी चयन हुनुएको छ । साधारण सभालाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले सहकारीले आर्थिक कारोबार सँगसँगै महिलाहरुको क्षमता अभिवृद्धि गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संघसंस्थाहरुले बचत र ऋणको कारोबार मात्र गर्ने नभई उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँ, संस्थापक सदस्य गोरखबहादुर सार्की र सहकारीका शेयर सदस्य मनिता रायमाझीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष तिलकुमारी रानाले प्रस्तावित कार्यक्रम र सचिव कमला शर्माले प्रगति तथा निवर्तमान कोषाध्यक्ष भगवती पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।