पोखरालाई स्वास्थ्य पर्यटनको हव बनाऔ : मुख्यमन्त्री अधिकारी


आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरालाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गर्न स्वास्थ्य सम्बद्ध संघ संस्थाहरुलाई आव्हान गर्नु भएको छ ।

एसोसियन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शुक्रवार पोखरामा उद्घाटन पछि बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसंगै भारत र चिनका समेत धेरै नागरिकलाई पोखरामा स्वास्थ्य उपचारका लागि आउन सक्ने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्छ, मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘निजी क्षेत्र, सरकार र सहकारी क्षेत्र मिलेर गण्डकी प्रदेशको राजधानीलाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गरौ, त्यसका लागि गण्डकी प्रदेश सरकार समन्वय गर्न तयार छ ।’

आफु केन्द्रमा स्वास्थ्यमन्त्री हुदा विमा लगायतका जनपक्षीय कार्यक्रम ल्याएको चर्चा गर्दै मुख्यमन्त्री अधिकारीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निजी क्षेत्रको सहयोग र समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्री , अफिन केन्द्रका अध्यक्ष डा पदमबहादुर खड्का, सम्मानित व्यक्तित्व डा.कालु शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा लामो समय सेवारत स्वास्थकर्मीहरुलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो । चिकित्सा क्षेत्रमा ३९ बर्षदेखि सेवारत डा.कालु शर्मा, नर्सिङ क्षेत्रमा ४९ बर्षदेखि सेवारत नर्स सरिता गुरुङ, फार्मेसी क्षेत्रमा ४२ बर्षदेखि सेवारत फार्मेसिस्ट श्रीराम पराजुली, प्रयोगशाला क्षेत्रमा ३९ बर्षदेखि सेवारत हरिबहादुर केसी र रेडियोलोजी क्षेत्रमा सेवारत शारदाप्रसाद न्यौपाने र बिगत ७ बर्षदेखि अफिनलाई क्रियाशिल बनाउन सफल सस्थापक अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको थियो ।

अधिवेशनले साहारा अस्पताल पोखराका डा.गिरधारी शर्माको अध्यक्षतामा अफिनको गण्डकी प्रदेश कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चरक मेमोरियल अस्पताल पोखराका कपिल पोखरेल, सचिव बिजी अस्पतालका ऋषि खतिवडा, कोषाध्यक्ष कास्की मोडेल अस्पतालका सूर्य पोखरेल निर्वाचित हुनु भएको छ ।

समितिका सदस्यहरुमा आमा बा अस्पताल गोर्खाका सन्दिप गोर्खाली, फेवासिटी अस्पताल पोखराका चण्डिका पण्डित, लम्जुङ अस्पतालका कल्पना पौडेल, वालिङ अस्पतालका शोभाकान्त पौडेल, नेशनल एपोलो अस्पताल तनहुका चुडामणी दाहाल निर्वाचित हुनुभएको छ । अधिवेशनबाट आमन्त्रित सदस्यमा नमस्ते अस्पताल पोखराका डा.केशव शर्मा, ग्यालेक्सी अस्पताल पोखराका दिपेन थापा, फेवासिटी अस्पताल पोखराका दिनेशबाबु खड्का र कास्की सेवा अस्पतालका ऋषिराम सापकोटा चयन हुनु भएको छ ।

अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ३९ वटा हस्पिटलका संचालक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागीता रहेको थियोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *