घर–घरमै सामाजिक सुरक्षा भत्ता

अमृत बास्कुने, म्याग्दी

८६ वर्षीय जसिकला कार्की शनिबार दिउसो पारिलो घाममा सुत्नुभएको थियो । बेनी नगरपालिका–१ रत्नेचौरकी जसिकलालाई बढ्दो उमेरसँगै रोगले पनि च्याप्न थालेको छ ।

घाम तापेर सुतिरहेकी जसिकलालाई आमा भनेर बोलाउँदै वडा अध्यक्ष टेकबहादुर थापा आगनमै पुग्नुभयो । उहाँसँगै कृषि विकास बैंकका कर्मचारी पनि जसिकलाको आगनमा पुग्नुभएको थियो ।

पछिल्लो ३ वर्षदेखि बिस्तारामा पर्नुभएकी जसिकलालाई वडा अध्यक्ष, वडा सदस्यहरु र बैंककका कर्मचारीले उहाँको नाममा जारी भएको चेकमा ल्याप्चे लगाउन लगाए । चार हजारका दरले तीन महिनाको १२ हजरको चेक हातमा परेपछि जसिकलाले सबैलाई आर्शिवाद दिनुभयो ।

‘यो भन्दा अगाडी गाडी खोजेर आमालाई लिएर भत्ता लिन बैंक जान्थ्ये,’ जसिकलाका बुहारी धनकुमारी कार्कीले भन्नुभयो, ‘चार हजार लिन जाँदा हजार खर्च हुन्थ्यो, जनप्रतिनिधिले समस्या बुझेर घरघरमै भत्ता ल्याइदिए वृद्ध, वृद्धा र अपाङ्गता भएकालाई भत्तामाथी थप राहत मिल्छ ।’

वडा अध्यक्ष थापा यसअघि सोही वडाको वडा सचिव हुनुहुन्थ्यो । जनताका समस्यासँग परिचित थापा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि भत्ता बुझ्न आउँदा स्थानीयलाई भएको सास्ती कम गर्न कर्मचारीसँगको समन्वयमा घरघरमै पुग्न थालेको बताउनुहुन्छ । उहाँ र वैंकका कर्मचारीको टोलीले रत्नेचौरको उपल्लो फाँछ र अर्जम क्षेत्रमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

जनप्रतिनिधिसँगको समन्वयमा बेनी नगरपालिकाको वडा नम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मेवारी लिएको कृषि बिकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाडेको हो ।

बैंकका प्रबन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय दुई जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् ।

त्यस मध्ये रत्नेचौरको फाँट क्षेत्र अर्थात् माथिल्लो भेकका दुई सय एक जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर बितरण गर्ने क्रममा एक सय ८० जनालाइ १८ लाख ९५ हजार रुपियाँ बितरण गरिएको कृषि बिकास बैक बेनी शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षमा नविकरण भएका रत्नेचौर फाँट क्षेत्रका २०१ मध्ये १८० लाइ घरमै पुगेर बितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ । कृषि बिकास बैंकले बेनी नगरपालिका–७ का ८२ जना र ८ का ७८ जनालाइ पनि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *