दुग्ध उत्पादक सहकारीकर्मीलाई गुणस्तर र लेखा तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडमा आवद्ध दुग्ध सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि सञ्चालित ३ दिने गुणस्तर तथा लेखा व्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालित तालिममा दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर बढाउने तथा लेखा प्रणालीलाई व्यवस्थित रुपमा राख्ने विषयमा जानकारी गराइएको थियो ।

तालिममा समापनका क्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण पछि बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले उत्पादनलाई गुणस्तरीय बनाउन तथा सहकारीले गर्ने कारोबारलाई पारदर्शी र व्यवस्थित गराउनका लागि तालिम सहयोगी हुने धारणा राख्नुभयो ।

उत्पादनसंगै वित्तीय कारोबार समेत हुने भएकाले दुग्ध सहकारीहरुको लेखा प्रणालीलाई थप व्यवस्थित र सदस्यमैत्री बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय देशको वित्तीय क्षेत्रमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ, बैंकका सञ्चालक जिसीले भन्नुभयो,–‘कोरोनाको संक्रमणको मुख्य समयमा मानिसको ज्यान बचाउन जसरी सकारात्मक सन्देश र परामर्श सेवा सञ्चालन गरेका थियौ, यतिबेला वित्तीय संकटबाट जोगिनका लागि पनि परामर्श आवश्यक छ ।’

उत्पादन क्षेत्रमा काम गर्नेहरुका लागि उत्पादन लागत कम गर्ने समस्या छ, उत्पादन लागत कम गर्न र उत्पादकहरुलाई जोगाउनका लागि राज्यको भूमिका प्रभावकारी हुनु पर्नेमा जिसीको जोड थियो ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतमले उत्पादक सहकारीहरुका लागि राज्यको भूमिका कहि कतै नभएकोले समन्वय र सहकार्य गर्न आग्रह गर्नु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत सदस्यहरुले उत्पादन गरेको दुधले बजारको धेरै माग पुरा गरेको बताउनुभयो । गुणस्तरीय दुध उपभोक्तालाई पु¥याउन संघमा आवद्ध सहकारी संस्थाका शेयर सदस्यहरुको भूमिका सहानिय रहेको चर्चा गर्दै उहाँले सरकारबाट उत्पादन क्षेत्रमा लागेका कृषकहरुलाई सहयोग आवश्यक रहेको बताउनुभयो ।

तालिम समापन कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता र सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

संघमा आवद्ध १४ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तर्फबाट मोहन प्रसाद अधिकारी, युवराज त्रिपाठी लगायतले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *