नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न


आदर्श अनलाइन, बागलुङ
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए ।

कोरोना कहर लगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवम् व्यवहार आवश्यक भएको बताए ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर लगायतले थप समस्यामा पारेको बताउनुभयो ।

चर्को व्याजदरले व्यवसायीहरू मारमा परिरहेको बताउँदै उहाँले व्यजाजदर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसयी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताउनुभयो । पुराना सवारी साधनलाई इलेक्ट्रीक मोडलमा रुपान्तरण गर्न उहाँले् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एनटिभिए गण्डकीका निवर्तमान अध्यष बोबरजंग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त बैज्ञानिक ढंगले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एनटिभिए गण्डकीका उपाध्यष एवम् कार्यक्रम संयोजक दुर्गादत्त दहाल, सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष केदारनाथ शर्मा, विकास कंगेल, जनक कार्की लगायतले बोल्नुभएको थियो । साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कंडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *