समस्यामा उद्योगी, व्यवसायी : निराश हुने हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव


आदर्श अनलाइन, पोखरा

कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ?

पोखरा उद्योग वाणिज्य संघले आइतबार यही विषयको वरपर रहेर अन्तरसंवाद कार्यक्रमको आयोजना ग¥यो । ‘उद्योगी÷व्यवसायीहरुमाथिका चुनौती र उत्पन्न निराशा ः सकारात्मक सोच,कर्म अनि उज्यालोतिरको यात्रा’ विषयक अन्तरक्रिया कार्यक्रममा अग्रज महिला उद्यमी रामकली खड्काले आग्रहको भाषामा भन्नुभयो ,‘व्यवसायीसँग ऋण त हुन्छ तर कर्जा उठाउने नाममा कर र भ्याटले छापा मार्दा पसलसम्म मात्रै छापा मारे हुन्थ्यो, साना नानीबाबुहरु सुत्ने कोठासम्म पुगेर खानतलासी नगरे हुने,त्यसले साना नानीबाबुलाई असर पु¥याउँछ !’

उहांको आग्रह वक्ता तथा गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङप्रति लक्षित थियो । गुरुङले जवाफ दिनुभयो,‘यो बर्दी भनेको चिनारीको लागि लगाउने कुरा हो,परिचयको लागि पनि प्रहरीले बर्दी लगाउनु जरुरी हुन्छ । तर, व्यवहारको पाटो हो, हाम्रा व्यक्तिगत व्यवहारको कुरा हुन्छ, हाम्रो प्रहरीमा पनि सुधारको आवश्यकता छ । ’

उहांले यसअघि नै सबै आरोपितहरुलाई हिरासतमै राखेर वा पक्राउ नै गरेर कारबाही गर्नु आवश्यक नभएको बताइसक्नुभएको थियो । ‘सबै आरोप लागेका व्यक्तिहरुलाई समातेरै ल्याउनुपर्छ भन्ने पनि छैन । त्यो अनुसन्धान अधिकारीले निर्णय गर्ने कुरा हो । एउटा अभियुक्त भाग्दैन भन्ने ग्यारेण्टी भए, अनुसन्धान अधिकृत वा वकिललाई त्यो ग्यारेण्टी हुनुप¥यो । बाहिर छाड्दा प्रमाणहरु नष्ट गर्दैन् भन्ने भएमा र उसबाट थप बदमासी हुँदैन भन्ने भए पक्राउ गर्नु आवश्यक हुँदैन ।’

उहांले व्यावसायिक असफलतामात्र आत्महत्याको कारक नभएको तर्क पनि गर्नुभयो । मानिसलाई सानैदेखि नैतिक शिक्षा दिनसके सानो समस्यामा पनि निराश हुने प्रवृत्तिबाट मुक्ति पाउन सकिने पनि उहांले बताउनुभयो । ‘अब आत्महत्या न्यूनीकरण हैन, मानशिक आत्मबल वृद्धिको अभियान थाल्नुपर्छ’,उहांले थप्नुभयो ।

उहांले प्रहरीको कस्टडीमा कुनै खालको दुव्र्यवहार र यातना नहुने जिकिर गर्नुभयो । चेक बाउन्सको हकमा अन्य प्रमाण जुटाउन आवश्यक नपरे प्रहरीले छिटो निरुपण खोज्ने गरेको पनि उहांको भनाइ थियो । ‘चेक बाउन्स हुनेले पुलिसकहाँ गयो भन्ने छ, अर्को पक्षले गरिदिएन भन्ने पनि छ । हामीले मध्यस्थता गर्ने ठाउँसम्म हामीले गरेका छौँ’,उहांले भन्नुभयोे ।

सोही कार्यक्रमका अर्का वक्ता हुनुहुन्थ्यो, वरिष्ठ अधिवक्ता दामोदर अधिकारी । उहांसंग सोधियो,‘बैंकले ताकेता गर्दैमा डराइहाल्नुपर्छ ?’ उहांले भन्नुभयो,‘पर्दैन, चेक बाउन्सको कुरा नै गर्दा नै प्रहरीमा उजुरी पर्दैमा ताकेता गरिहाल्नुपर्ने अवस्था आउँदैन । कानूनले दुईवटा विकल्प दिएको छ । एउटा बाटो अदालतको हुन्छ, अर्को बाटो प्रहरीको हुन्छ । मान्नुहोस्, कुनै व्यवसायीमाथि चेक बाउन्सको उजुरी प¥यो भने, उहाँहरुले कानूनी बाटो समात्न सकिन्छ । उजुरी लिएर अदालततर्फ जान सकिन्छ ।’ अदालतले नै सवै मुद्दाको निरुपण गर्ने हो नि । त्यस्तोमा व्यवसायीलाई केही सहज हुन्छ ।’
उहांले कालोसूचीमा राख्ने भनेको एउटा प्रक्रिया भएको र त्यसबाट व्यवसायीहरु हतोत्साही भइहाल्नु नपर्ने बताउनुभयो । ‘त्यसको पनि कानूनी प्रक्रिया हुन्छ, कानूनी उपचार खोज्न सकिन्छ’,उनले भने,‘ नेपालको संविधान २०७२ ले व्यापार व्यवसायको अधिकार प्रदान गरेको छ । व्यवसाय गर्दा बाधा व्यवधान आउँछ । कानूनी उपचार खोजेर कालोसूची वा लिलामी प्रक्रियालाई पछाडि धकेल्न सकिन्छ र त्यतिबेलासम्म व्यवसाय सुधार्ने अवसर पनि आउँछ’, उहांले भन्नुभयोे । कालोसूचीमा परेका वा धितो लिलामीमा जाने अवस्थामा कानूनी उपचार खोज्नेलाई निशुल्क कानूनी सेवा प्रदानको अवसर भएको पनि उहांले बताउनुभयो । त्यस्तो अवस्थामा परिवारको सदस्यले कानूनी उपचार खोज्नुपर्ने उहांको सुझाव थियो । लिलामी प्रक्रियालाई पनि पछि धकेल्न सकिन्छ ।

अन्तरसंवादका अर्का वक्ता वरिष्ठ मनोचिकित्सक डाक्टर रविराज तिमिल्सिनाले आफूलाई केन्द्रमा राखेर सोच्ने हो भने तनाव व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहांले आत्महत्या तत्कालको प्रतिक्रियाजस्तो देखिए पनि त्यो निर्णयको पछाडि लामो प्रक्रिया हुने तर्क राख्नुभयो । तनावको बेला परिवारसँग छलफल गर्ने, भविष्यको बारेमा सोच्ने बानीको विकास गराउनुपर्नेमा उहांले जोड दिनुभयो ।

व्यवसायीमात्र नभएर सबै व्यक्तिमा ‘मेरो लागि मैले न्यूनतम गर्नुपर्ने के’ भन्ने बुझ्न जरुरी रहेको उहांको भनाइ थियो ।

‘अब सबैले म भन्ने सोचौँ र आफूलाई केन्द्रमा राखेर कुरा गरौँ’,उहांले भन्नुभयो चार जनामध्ये एकजनामा मानसिक समस्या छ भन्ने तथ्यले देखाएको छ, त्यसको उपचार सम्भव छ । निद्रा मार्नुभएन, निद्राको लागि समय निकाल्नुप¥यो । समस्या सबैलाई थाहा छ तर हामीले आफ्नै लागि समय निकालेका छैनौँ,समस्या त्यहीँ छ ।’ उहांले पीडा सहन पर्दैन,व्यवस्थापन गरेपुग्छ भन्नेमात्र बुझे समस्याबाट मुक्ति पाइने समेत बताउनुभयो । उहांले तनाव परिवारलाई सुनाउन राम्रो कि नराम्रो भन्ने प्रश्नमा भने,‘ सबैभन्दा नजिकको साथी भनेको परिवार नै हो । दुःख बाँडे घट्छ र सुख बाँडे बढ्छ, समस्या भएको अवस्थामा अरुलाई भन्दा हल निस्कन सक्छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै समस्यामा परेका व्यवसायीहरुलाई परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संघको ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमका सहभागीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति र त्यसले व्यवसायीहरुमाथि पारेका प्रभावबारे विभिन्न जिज्ञासा राखेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *