बागलुङ नगरपालिका भित्रका सहकारीहरुको प्रोफाइल प्रकाशन

रोहन जि.सी. बागलुङ

बागलुङ नगरपालिकाले नगरपालिका भित्रका सहकारीको संस्थागत अवस्था र वित्तीय विवरण समेटिएको पुस्तक सहकारी पाश्र्वचित्र (प्रोफाइल) २०७९ सोमबार सार्वजनिक गरेको छ ।
बागलुङ नगरपालिका कार्यक्षेत्र भएका १ सय ६ वटा सहकारी संघ संस्थाहरुको संस्थागत अवस्था, सञ्चालक समिति, वित्तीय कारोबार लगायत संस्थाहरुको महत्वपूर्ण विषयको जानकारी प्रोफाइलमा रहेको छ ।

पाश्र्वचित्र सार्वजनिक गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीहरुको प्रवद्र्धन गरी सहकारीहरुसंगको समन्वयमा बागलुङलाई उत्कृष्ट नगरपालिका बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

सहकारी विकासको मुख्य सारथी बन्न सक्दछ, सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका प्रभावकारी बनाउन सक्ने हो भने सहकारी विकासको प्रमुख सारथी हो, नगरप्रमुख श्रेष्ठले भन्नुभयो–‘तर सहकारीमा थुप्रै समस्याहरु छन, सुशासन, व्यवस्थापन जस्ता आन्तरिक समस्यालाई समाधान गरेर अगाडि बढ्ने हो सहकारीमार्फत आर्थिक विकास संभव छ ।’

नगरपालिका भित्र रहेका सहकारीहरुको संस्थागत अवस्था पहिचान गरी सहकारीहरुलाई सुशासनमा ल्याउन, सहकारीमार्फत कृषि लगायत उत्पादनका क्षेत्रमा काम गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहकार्य गर्दै अगाडि बढ्ने नगर प्रमुख श्रेष्ठको प्रतिवद्धता रहेको छ ।
नगर उपप्रमुख राजु खड्काले सहकारीहरुको प्रवद्र्धन र विकासका लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सहकारीहरुमा सुशासन कायम गर्नका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

सहकारीमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु रहन्छन्, ति सबैले आ–आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने हो भने अनुगमन नियमनको आवश्यकता नपर्ने उहाँको भनाइ थियो ।

पाश्र्वचित्र विमोचन तथा वार्षिक समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्मा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक दिपक गौतम, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष अमृता केसी लगायतले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि अभियान र सरकारबीचको सहकार्य समन्वयमा जोड दिनु भएको थियो ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सहकारीको प्रवद्र्धन र विकासमा नगरपालिकाको भूमिका तथा नगरपालिकाका योजना र कार्यक्रममा सहकारीको सहभागिताका विषयमा जानकारी गराउनु भएको थियो ।

बागलुङ नगरपालिका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले र सञ्चालन सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम प्रसाद शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *