आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाँउपालिका र जैमिनी नगरपालिकाका शिक्षकहरुलाई शिक्षण सिकाइमा सुचना, संचार र प्रविधिको प्रयोग सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।
हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षकहरुका लागि आयोजना गरिएको दुई दिने शिक्षण सिकाइमा सुचना, संचार र प्रविधिको प्रयोग सम्बन्धि तालिम शनिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै भिएसओ नेपालका परियोजना प्रबन्धक फिरोज सिद्दिगीले प्रशिक्षण कार्यक्रमबाट प्राप्त गरेका सिप, ज्ञानलाई आगामी दिनमा सदुपयोग गर्न आव्हान गर्नु भएको थियो । उहाँले नयाँ सिकाइको प्रयोग गर्नु आवश्यक रहेको र त्यस बारेमा सबै विद्यालयमा शिक्षक र विद्यार्थीले सिक्नु पर्ने, शिक्षण सिकाइमा सुचना, संचार र प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउनुुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक पदमराज पन्त, भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकी, बिवाईसी बागलुङका परियोजना संयोजक पोष्ट के.सी, सिकाइ परियोजना अनुगमन तथा मूल्याकंन अधिकृत बिमल शर्मा, सहभागिहरुको तर्फबाट शिक्षक टीका थापा, शिक्षक घनश्याम कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिममा काठेखोला गाँउपालिका र जैमिनी नगरपालिका अन्तर्गत विभिन्न ६० विद्यालयका ६० जना शिक्षकहरुको सहभागीता रहेको बिवाईसी बागलुङका सिकाइ परियोजना अनुगमन तथा मूल्याकंन अधिकृत बिमल शर्माले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा आइसिटी विज्ञ पदमराज पन्त, भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकीले सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र काठेखोला अन्तर्गत सिकाइ परियोजना फिल्ड सुपर्भाइजर कृष्ण कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।