आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले नगरभित्रका सवै वडामा कार्यरत वडा सचिव र कर्मचारीहरुका लागि सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
वडा बाट प्रदान गरिने विभिन्न किसिमका सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई कसरी सहज ढंगले सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयलाई मध्यनजर गरी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाले वडा तहबाटै सम्पादन हुने कामलाई अझै सहज बनाउन वडा सचिव र कर्मचारीको क्षमता अभिबृद्धि गर्नुका साथै विभिन्न विषयमा छलफल गरिने छ ।
कार्यक्रममको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आम नगरबासीको पहिलो सेवा विन्दु भनेकै वडा कार्यालय भएका कारण वडा बाट हुने काम कारबाहीलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले वडाबाट हुने विभिन्न किसिमका सिफारिसहरु माथिल्लो निकायमा पुग्दा नमिल्ने र आम उपभोक्ता र सेवाग्राहीहरु झण्झटमा पर्ने गरेको भन्दै यस्ता समस्याको समाधानका निम्ती कर्मचारीको क्षमता विकासका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले अभिमुखिकरण कार्यक्रमले वडाबाट सम्पादन हुने सार्वजनिक सेवा प्रवाह अझै प्रभावकारी हुने बताउनुभयो ।
दुई दिन सम्म संचालन हुने अभिमुखिकरण कार्यक्रममा वडा तहमा हुने पञ्जीकरणका काम र सिफारिस, राजश्व संकलन, वित्तिय सुसासन, विषयगत शाखाहरुलाई वडा बाट गर्ने सिफारिस, योजना सम्झौता र फरफारक लगायतका विषयमा सहजिकरण गरिने नगरपालिकाका अधिकृतस्तर आठौं युक्त प्रसाद सुवेदीले बताउनुभयो । कार्यक्रमको सहजीकरण विभिन्न विषयगत शाखाका प्रमुखहरुले गर्ने छन ।
वडा नं. ४ का वडा अध्यक्ष एवं क्षमता विकास समितिका संयोजक कुमार विक्रम क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विषय बस्तु र उद्देश्यका बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा र संचालन अधिकृत स्तर आठौं युक्तप्रसाद सुवेदीले गरेका थिए ।