आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले बैंकको एटीएम मेसिन फोर्न प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने २१ वर्षीय सुशिल चाम्लिङ राई र लम्जुङको मर्स्याङदी गाउँपालिका–४ स्थायी घर भइ पोखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ रहेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।
गत मंगलबार राती सवा १२ बजे पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा रहेको एनआइसी एसिया बैंकको एटिएम, १ बजेर २२ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १५ वनक्याम्पस गेटमा रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र ४ बजेको समयमा पोखरा १५ रामबजार पेन्सन क्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन फोर्नका लागि तोडफोड गर्ने, ढुंगाले हान्ने तथा सिसिटिभि क्यामेरामा कागजले छोप्ने गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई चोरी तथा डाका सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको खड्काले जानकारी दिनुभयो ।