पोखराका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध सडकमा

आदर्श अनलाइन, पोखरा
पोखराका उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति विरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी व्यवसायीहरु सडकमा ओर्लिएका हुन् ।

विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो ।

विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी÷व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो । उहांले उद्योग÷व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुनु हो भन्दै यो समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने माग गर्नुभयो । ‘भूकम्प,बाढीपहिरोजस्ता विपत्ति अनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिन्छ भने व्यवसायीको समस्याका किन नखोज्ने ?,उहांको प्रश्न थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतिविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको बताउनुभयो । उहांले लामो समयदेखि निजी क्षेत्रले बैंकले कर्जामा बढाएको ब्याजदर घटाउन माग गरिरहे पनि नसुनिएको जिकिर गर्नुभयो ।

‘हामीले ऋणको किस्स्ता र ब्याज तिदैनौं भनेकै छैनौं । हाम्रो माग भनेको एकाएक र एकतर्फी रुपले बढाइएको ब्याज घटाऊ र ऋणको किस्ताको पुनर्तालिकीकरण गर भन्ने मात्र हो,’,उहांले भन्नुभयो,‘ अहिले अवस्था ठीक छैन, हाम्रो व्यापार छैन । व्यापार हुनासाथ कर्जा तिर्छौं,समय देऊ भन्ने सामान्य माग पनि नसुन्ने सरकार देखेर हामी दुखित भएका छौं ।’

उहांले शान्तिपूर्ण आवाजलाई सुनिएन भने काठमाडौं नै पुगेर आन्दोलन गर्ने चेतावनी दिनुभयो । व्याजदर घटेन भने हामी बाध्य भएर व्यवसायको ताला–चाबी सरकारलाई बुझाउन बाध्य हुने उहांको भनाइ रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विरोध कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै आउँदा दिनमा गरिने सशक्त आन्दोलनको लागि तयार रहन आग्रह गर्नुभयोे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिनुभयो ।

निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उहांले बताउनुभयो । संघका महासचिव बलराम आचार्यले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *