सहकारीका चुनौतीको सामना गर्न त्रिहत्तर लाख सदस्यको एउटै आवाज बनाउनुपर्छ : नेफ्स्कुन अध्यक्ष पौड्याल

रोहन जि.सी. बागलुङ,

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारीका ७३ लाख सदस्यको एउटै आवाज बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

विश्वमा देखिएको वित्तीय संकटको असरका कारण नेपालको वित्तीय क्षेत्र प्रभावित भएको र त्यसको असर सहकारी क्षेत्रमा समेत परेको भन्दै पौड्यालले सहकारीको वर्तमान चुनौती पार गर्नका लागि सम्पूर्ण शेयर सदस्यहरुको एउटै आवाज आवश्यक रहेको बताउनुभयो ।

जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङको आयोजना तथा नेफ्स्कुनको साझेदारीमा शुक्रवार बागलुङमा सम्पन्न नेफ्स्कुन जिल्ला संघ साझेदारी कार्यक्रमको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कतिपय सहकारीहरुमा देखिएको सुशासनको समस्याका कारण समग्र सहकारी क्षेत्र माथि नै समस्या देखिएको छ, यो समस्या समाधानका लागि सबैको एउटै आवाज बनाउनु पर्नेमा उहाँको जोड थियो ।

सहकारी संस्था, जिल्ला, प्रदेश र केन्द्रीय संघ, सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ लगायत सम्पूर्ण सरोकारवालाहरुबीच सहकारीको समस्या समाधानका लागि एउटै आवाज बनाउने विषयमा सम्वाद, छलफल र अन्तरक्रियाहरु भैरहेको जानकारी गराउदै उहाँले सहकारीका समस्या समाधानमा अभियानले निरन्तर खबरदारी गरीरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालकहरु कमलादेवी गिरी, विद्या कोइराला र सन्दिप सापकोटा, मोरङ जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम प्रकाश कोइरालाले सहकारी क्षेत्रमा देखिएको चुनौतीलाई सबै मिलेर समाधान गर्नु पर्ने, सहकारीको साख जोगाउन समन्वय र सहकार्यमा जोड दिनुभएको थियो ।

नेफ्स्कुनका सहायक प्रमुख कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले नेफ्स्कुन जिल्ला संघ व्यवसाय साझेदारी सम्झौता कार्यान्वयन सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता, सञ्चालक चण्डीप्रसाद शर्माको स्वागत र जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *