हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ । त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।

बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंमा चिसो बढ्यो

हिजो पानी परेपछि काठमाडौं उपत्यकामा आज बिहान चिसो महसुस भएको छ । आज न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकाले अघिल्ला दिनहरुको तुलनामा चिसो महसुस भएको मौसमविद अधिकारीले बताए ।

उनका अनुसार आइतबार र शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । हिउँद सुरु भएको लामो समयपछि पानी परेपछि बालीनाली सपि्रने आशले किसानहरु खुसी भएका छन् । तर नेपालमा पूर्वानुमान गरेअनुसार यस वर्षको हिउँद सुक्खा भएको छ ।

मौसम विज्ञान विभागका अनुसार विगत १७ वर्षयताको तथ्यांक हेर्दा ११ हिउँदमा औसतभन्दा कम पानी परेर सुक्खा देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *