‘सही स्थानमा लगानी भयो भने समुन्नत समाज बन्छ’

आदर्श अनलाइन, म्याग्दी
कुनै पनि वित्तीय संस्थाबाट लिएको ऋणलाई सही स्थानमा लगानी गरेर उत्पादनलाई जोड दिने हो भने समुन्नत समाज बन्न सहज हुने बेनीमा आयोजित एक कार्यक्रम बोल्ने वक्ताहरुले बताएका छन् ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बेनी बजारमा आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उक्त कुरा बताउनुभएको हो ।

म्याग्दी सदरमुकाम बेनीसँगै जोडिएर रहेको पर्वतको जलजला गाउँपालिकामा रहेको सिवाइसी नेपालको जलजला शाखा कार्यालयको संयोजनमा भएको उक्त कार्यक्रममा आचार्यले अन्य लघुवित्त भन्दा सिवाईसीको भूमिका र व्यवहार फरक देखेको बताउँदै सिवाइसीले पहिला योजना बनाएर मात्रै ऋण लगानी गर्ने गरेकोले समुन्नत समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाइ स्वरोजगार तथा आत्म निर्भर बनाउनका लागि लघुबित्तले गर्ने लगानी प्रभावकारी हुने बताउनुभयो । उहाँले महिलाहरुले वित्तिय संस्था बाट लिएको ऋण सही सदुपयोग गर्दै आफ्नो लागि आफै पैसा आर्जन गर्न र गुजारा चलाउन सक्ने भएको बताउनुभयो ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले साना व्यवसायीहरुका लागि र ब्यवसायी बन्न चाहनेहरुका लागि लघुवित्तले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

सिवाइसी लघुवित्तका प्रबन्ध संचालक डोलिन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्याक्रममा सिवाइसी जलजला शाखा प्रमुख झलक पौडेलले स्वागत गर्नुभएको थियो । हाल देशभर ९३ शाखा रहेको सिवाइसी नेपाल लघुबित्तले २०७८ मा म्याग्दीमा रहेको शालिग्राम लघुबित्तलाई प्राप्ती गरेको थियो ।

यो पनि पढ्नुहोस्