जुर्मुराउदै पर्वतको सहकारी अभियान

आदर्श अनलाइन, पर्वत

लामो समयदेखि निष्क्रिय रहेको जिल्ला सहकारी संघ लिमिटेड पर्वतले नयाँ नेतृत्व पाएसंगै पर्वतको सहकारी अभियान जुर्मुराउन थालेको छ । सहकारी अभियानको तर्फबाट प्राय गतिविधि नहुने गरेको पर्वतमा पछिल्लो समय अभियानका कार्यक्रमले तिब्रता पाउन थालेका छन् ।

फागुन ९ गते सम्पन्न विशेष साधारणसभाले संघलाई अगाडि बढाउनका लागि शेषराज रेग्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेसंगै पर्वतमा अभियान र राज्यका तर्फबाट समेत सहकारी प्रवद्र्धनका कार्यक्रम शुरु हुन थालेका छन् ।

संघको नयाँ सञ्चालक समिति बनेसंगै राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनका तर्फबाट समसामयिक विषयमा फागुन ११ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सहकारी क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या, तिनको पहिचान र समाधानका लागि अभियानको तर्फबाट भैरहेका प्रयासहरुका बारेमा छलफल भएपछि सहकारीकर्मीहरुमा उत्साह थपिएको संघका अध्यक्ष शेषराज रेग्मीले बताउनुभयो ।

सहकारी अभियानका तर्फबाट वर्तमान संकटनको समाधानका लागि भएका प्रयाससंगै जिल्ला स्तरमा विभिन्न क्षेत्रबाट र स्वयं सहकारी संघ संस्थाहरुले समेत सदस्य केन्द्रीत अभियान सञ्चालन गर्न थालेको सहकारीकर्मीहरुले बताएका छन् ।

पर्वतका सहकारीहरुलाई व्यवस्थित गराउन, सहकारीप्रतिको आम समुदायको चासोलाई सकारात्मक बनाउने उद्देश्यका साथ फागुन १६ गते प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सहकारी अभियानकर्मीहरु र सुरक्षा निकायका प्रमुखहरुबीच समन्वयात्मक वैठकको आयोजना गर्नु भएको थियो ।

सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि प्रमुख जिल्ला अधिकारी बरालले गरेको प्रयासले हामीलाई धेरै नै उत्साहित बनाएको छ, जिल्ला सहकारी संघका अध्यक्ष रेग्मीले भन्नुभयो–‘सहकारीमा देखिएका समस्या समाधानका लागि हामी निरन्तर लागि रहेकै थियौ, प्रमुख जिल्ला अधिकारीले समेत जिल्लामा सहकारीको समस्या सकेसम्म आउन नदिने र आइहालेमा सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।’

प्रमुख जिल्ला अधिकारी बरालको संयोजनमा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ लगायत सहकारी अभियानका प्रतिनिधि र सरोकारवालाहरुबीच भएको वैठकले ६ बुदे निर्णय गरेको छ ।

सहकारीका सञ्चालक र शेयर सदस्यहरुले सहकारीका सिद्धान्त, प्रचलित ऐन नियमको पूर्ण पालना गर्नुका साथै आर्थिक अनुशासनमा रही पारदर्शिता प्रवद्र्धन गर्ने, सिसिटिभीको मर्मत संभार गरी सबै क्षेत्रमा कभरेज हुने गरी जडान गर्ने, सहकारीमा आउने शेयर सदस्य र सेवाग्राहीसंगको व्यवहार राम्रो गर्ने निर्णय भएको छ ।

यस्तै सुरक्षा चुनौतीको महसुस हुने वित्तिकै नजिकको सुरक्षा निकायसंग सम्पर्क गर्ने, व्यवसायिक तथा सामाजिक उत्तरदायित्वलाई सामाजिक हित प्रवद्र्धन हुने गरी व्यवस्था मिलाउने तथा आम जनतामा सहकारी प्रतिको चासो र गुनासा लगायत सहकारी सुशासनका विषयमा स्थानीयहरुले छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

वैठकमा प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु), जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपाने, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मी, उपाध्यक्ष लाल बहादुर अधिकारी, सचिव ऋषिराम भुषाल, कोषाध्यक्ष देवी क्षेत्री लामिछाने, लेखा सुपरीवेक्षण समितिका संयोजक घनश्याम उपाध्याय, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा लगायतको सहभागिता रहेको थियो ।

सहकारी अभियानका अगुवाहरु र राज्यका विभिन्न तहमा कार्यरत प्रशासक र सहकारी हेर्ने कर्मचारीहरुबीचको अन्तरक्रियाले पर्वतको समग्र सहकारी अभियानलाई अगाडि बढाउन मद्दत गरेको जिल्ला सहकारी संघ पर्वतका उपाध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघले पर्वतका सबै पालिकासंग समन्वय गरेर सहकारी सचेतना, ऐन कानुनको प्रभावकारी कार्यान्वयन लगायत व्यवसायिक दक्षता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको अध्यक्षले रेग्मीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *