सहकारीका समस्या समाधान गर्न सदस्यसंगै हातेमालो गरौ : उपसभामुख थापा

रोहन जि.सी. बागलुङ,

गण्डकी प्रदेशसभाका उप–सभामुख बिना कुमारी थापाले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक एक दिने गोष्ठीको शनिवार बागलुङमा उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी सदस्यहरुको हो, सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो, सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रे सहकारीलाई जोगाउन सकिन्छ, उपसभामुख थापाले भन्नुभयो–‘सहकारीलाई सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ ।’

सहकारीमा सुशासन कायम गर्नका लागि सहकारी ऐन कानुनको पालना, कार्यविधि बनाएर नीतिगतरुपमा संस्था सञ्चालन गराउन आग्रह गर्दै उहाँले राज्यका तर्फबाट सहकारी प्रवद्र्धनका लागि गर्नु पर्ने विषयमा समन्वय गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राज कुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले सहकारी अभियानमा देखिएका समस्याको पहिचान गरी संयुक्त रुपमा समाधानका लागि लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव चुडामणी आचार्य र धन्यवाद मन्तव्य उपाध्यक्ष शिवकला थापाले गर्नु भएको थियो ।

कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विद्यालयका राजयोगिनी प्रशिक्षक ब्रह्माकुमारी सुधार दिदीले सकारात्मक सोच सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *