रत्नमानको तीन भाषाको पुस्तक लोकार्पण

आदर्श अनलाइन, पोखरा
शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषा सम्बन्धी पुस्तक बजारमा ल्याउनुभएको छ । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गर्नुभयो ।

२००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाट स्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापक गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लबअफ मिडटाउनका पूर्व अध्यक्ष गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष हनुहुन्छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गुरुङलाई भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा उदाएको धारणा राख्नुभयो । लामो समयदेखि सङ्गत गरे पनि गुरुङ भित्रको सिर्जनात्मक क्षमताभने आफूलाई थाहा नभएको स्मरण गर्दै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गर्नु आफ्ना लागि सुखद आश्चर्य भएको समेत बताउनुभयो ।

साहित्यकार हुनु र भाषाविद् हुनु फरक कुरा भएको उहांको भनाइ रहेको थियो । हाम्रा मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगिरहेको अवस्थामा रत्नमानद्वारा लिखित यो पुस्तक आउनुले भाषा संरक्षणका लागि सत्प्रेरणा प्रदान गर्ने छ, सरुभक्तले भन्नुभयो, ‘भाषिक समुदायवर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढेमा मातृभाषाहरूको संरक्षण गर्न सकिन्छ । एउटाको कार्यक्रममा अर्को समुदायलाई बोलाऊँ र एउटा समुदायको मानिस अर्को समुदायको कार्यक्रमा जाने गरौँ ।’ गुरुङ भाषाको संरक्षणका लागि रत्नमानको प्रयास स्तुत्य रहेको भन्दै उहांले साहित्य र भाषाका अन्य पक्षमा पनि निरन्त लेखनमा लाग्न सुझाव दिनुभयो ।

कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्रा. डा. कुसुमाकर न्यौपानेले गुरुङ, नेपाली र अङ्ग्रजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गर्नुभयोे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत् चर्चा गरिएको र दोस्रो भागमा गुरुङ वाक्य विज्ञान सम्बन्धी जानकारी राखिएको उहांले बताउनुभयो । कृति गुरुङ समुदायले मात्र नभई सबै नेपाली भाषा प्रेमीहरूले गौरव गर्न लायक मानक बनेको डा. न्यौपानेको भनाइ थियो ।

लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तक भएको अनुभव सुनाउनुभयो । विशेष गरी कोरोना कालमा गरिएको अध्ययनलाई समेटेर कृति लेखनमा लगेको बताउँदै उहांले अहिले वाक्य विज्ञानका विषयमा पुस्तक लेखे पनि क्रमशः ध्वनि विज्ञान, वर्ण विज्ञान, अर्थ विज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए । संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्ने आफ्नो मान्यता रहेको उहांले बताउनुभयो । गुरुङ मातृभाषा सम्बन्धी चासो भएका तर ज्ञान नभएका नेपाल भित्र र डायस्पोराका युवा पुस्ताले स्वाध्ययन र शोक कार्यका लागिपनि आफ्नो पुस्तक उपयोगीहुने उहांको तर्क रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *