चैत २९ बाट फेवा किनारमा नव वर्ष महोत्सव

आदर्श अनलाइन, पोखरा
कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउने उद्देश्य सहित होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । आगामी चैतको २९ देखी वैशाख १ गते सम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोक सम्मको सडकमा महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताउनुभयो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास ब्यक्त गर्दै सुवेदीले अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने बताउनुभयो ।

फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ । विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेटिने संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका अर्का सहसंयोजक गणेश पहारीले बताउनुभयो । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । महोत्सवको तयारीबारे जानकारी र प्रचारका कार्यक्रम छिटै सार्वजनिक गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *