आदर्श अनलाइन, पोखरा
कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो ।
वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नुभयो । वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिलाल उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताउदै केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताउनुभयो ।
पोखरा आगमन सन्दर्भमा बोल्दै बल्लभले कार्यक्रमका हिसाबले पोखरा आगमन यो तेस्रो भएको बताउनुभयो । पहिलो पटक म्यूजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गर्दै अनेसासको सम्मानप्रति आभार प्रकट गर्नुभयो । सोही समारोहबीच अनेसास गण्डकी समितिकातर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा पाँच दशक साधना गरी पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा सम्मान अर्पण गर्नुभएको थियो ।
अतिथि सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको बताउनुभयो । हरिदेवी कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्य सेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाका रूपमा चिनाउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताउनुभयो ।
कृतिको समीक्षा गर्दै घनेन्द्र ओझाले छ सातवर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उनको साहित्य लेखनको पहिलो कडी इमान भएको बताउनुभयो । कृति सम्पादनका सम्बन्धमा बताउँदै उहांले अव्यक्त पीडा भित्र केसीका हजारौं मध्येका उत्कृष्ट मुक्तक भएको बताउनुभयो । स्रष्टाको परिचय समेत दिँदै ओझाले कास्कीको भलाममा जन्मेका केसीका यस अघि यसरी पोखियो मन, परेलीभित्रै छु कवितासङ्ग्रह, मनको पहिरो, इमानको पहाड मुक्तकसङ्ग्रह र यो जुनीमा यस्तै भयो गीतिएल्बम प्रकाशित गरिसकेका सिर्जनशील स्रष्टा भएको धारणा ब्यक्त गर्नुभयो ।
कृतिका स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यस पटक पोखरामा कार्यक्रम आयोजना गरेको बताउदै आफ्ना जागिरे तथा व्यक्तिगत जीवनका विविध अध्याय र आयामको स्मरण गर्दै समय–समय भावुकसमेत भएका केसीले दाजुभाइको बाल्यकालीन स्नेहसमेत स्मरण गर्नुभयो । साथै, अनेसास र हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषले यो बन्दोबस्तो मिलाएकोमा आभार पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तकवाचन गरेका थिए । समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसीलगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा आयामबारे चर्चा गरे । अध्यक्षको आसनबाट बोल्दै कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । अनेसास उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव असफल गौतमले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो