शिवालयमा नगदसहित शिक्षक सम्मान

आदर्श अनलाइन, पोखरा
कास्कीको रूपा गाउँपालिका–२, थुम्की स्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा काम गरेका एक शिक्षकलाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ । विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगद सहित सम्मान गर्दै बिदाइ गरेका हो ।

२०६२ देखि विद्यालयमा कार्य गरेका उहांले उमेर हदका कारण गत फागुन १ गते देखि स्वैच्छिक अवकाश लिनुभएको थियो । उहांले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिनुभयो ।

थापासँगै शिक्षिका त्रयबिना तिमल्सेना, पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मान सहित बिदाइ गरिएको थियो । तिमल्सेना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुखअतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष समेत रहेका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको बताउनुभयोे ।

कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गएपनि बिर्सन नसक्ने धारणा राख्नुभएको थियो । उहांहरुले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थि तिसिर्जना गरेको समेत बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझा लगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *