मनकुमारी केसी, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य शर्मिला गिरीकी सासुआमा बागलुङ नगरपालिका– १, रामरेखा निवासी पार्वति गिरीको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।
गिरीको निधन भएको बाह्रौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।
श्रद्धाञ्जली सभामा संस्थाका प्रबन्धक दिपकराज सापकोटा तथा शेयर सदस्य पुष्प गिरीले सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप पाँच हजार रुपैयाँ स्वर्गीय गिरीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु।१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु।५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।