अलपत्र योजना सम्पन्न गर्नु मुख्य प्राथमिकता : मन्त्री जुगजाली

अमृत बास्कुने, म्याग्दी

जिल्ला भित्र सञ्चालित अलपत्र तथा रोकिएका योजनाहरु सबैले प्रयास गरेर सम्पन्न गर्नु पर्ने गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुगजालीले बताउनुभएको छ ।म्याग्दीको बेनीमा चैत १ गते देखि शुरु भएको म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री जुगजालीले उक्त कुरा बताउनुभएको हो ।

लिग फुटबलको उद्घाटन गर्दै मन्त्री जुगजालीले जिल्ला भित्र रहेका साना ठूला सबै योजनाहरु सम्पन्न गर्नका लागि सबैले प्रयास गर्नु पर्ने बताउनुभयो । उहाँले अलपत्र योजना सम्पन्न गर्ने आफ्नो लक्ष्य भएको भन्दै त्यसमा जनताको साथ आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकार रोकिएका तथा अलपत्र अवस्थामा पुगेका कुनै पनि योजनाहरु सम्पन्न गर्ने ध्येयमा लागेको बताउँदै उहाँले जिल्लाका सबै नागरिकले हातेमालो गरेर त्यस्ता योजनाहरु सफल बनाउन प्रयास गर्नु पर्ने बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले जिल्लामा पहिलो पटक आयोजना भएको लिग फुटबलले समग्रमा केही नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले जिल्ला भित्रैका खेलाडीहरुको सहभागिताले गर्दा जिल्लाको फुटबल खेलाडीको पहिचान गर्न पनि सहज हुने धारणा राख्नु भयोे । जिल्ला बाहिरका तीन जना खेलाडी समावेस गर्न पाइने प्रतियोगिताले स्थानीयको खेल कला प्रष्फुटन गर्नुका साथै नयाँबाट सिक्ने मौका पाउने समेत बताउनुभयो ।

न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयका भाइस प्रिन्सीपल कृष्णबहादुर जिसीले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले बोल्नु भएको थियो ।

म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा शुरु भएको लिग फुटबल प्रतियोगिताको समूह ‘ए’ मा अर्थुङ्गे युवा क्लब, बारी मण्डली युवा क्लब, मनसुन युवा क्लब, कालिपुल युनाइटेड र मालिका एफसी रहेका छन् । समूह ‘बि’ मा नव उत्साही युवा क्लब, बुद्ध युवा क्लब, एभरग्रीन युवा क्लब, जनप्रिय क्लब दरवाङ र पश्चिम म्याग्दी युवा क्लब दरवाङ रहेका छन् ।

दुवै समूहका प्रत्येक क्लबले चारचार खेल खेले पछि शिर्ष दुई क्लब बीचमा सेमीफाइनल हुनेछ । सेमीफाइनलका बिजेताहरु बिच हुने फाइनल बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपियाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

सात लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिता नाइन ‘ए’साइड हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दी जिल्लाबाट विगतमा फुटबल खेलेर सक्रिय खेलजिवनबाट बिश्राम लिएका खेलाडीहरुको सक्रियतामा जिल्लामा अखिल नेपाल फुटबल संघ(एन्फा)को शाखा ल्याउने हेतुले यो प्रतियोेगिताको परिकल्पना गरिएको विश्वकर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *