मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

आर्दश अनलाइन, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा २१२ जना विद्यार्थी मतदाता मध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्ष तर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन शाहीले १३० मत, कोषाध्यक्षमा तारा राना मगरले १२६ मत प्राप्त गर्नुभएको मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी सदस्यहरुमा बिन्दा रोका, इश्वरी फगामी, युमायाँ दर्जी, मेघ घर्तीमगर र सजिना सुवेदी विजयी हुनुभएको छ ।

त्यसैगरी समानुपातिक तर्फ अनेरास्ववियुले १३० मत प्राप्त गर्दा नेपाल विद्यार्थी संघले १२ मत पाएको छ । मंगला शिक्षा क्याम्पसमा गठबन्धन गरेर नेबिसंघ र अखिल क्रान्तिकारीले चुनावमा भाग लिएको भए पनि क्रान्तिकारीको समानुपातिकमा शुन्य मत भएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उहाँले बताउनुभयो ।

मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए । मंगला शिक्षा क्याम्पसमा प्रत्यक्ष तर्फ नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदमा उम्मेदवारी दर्ता गराएको थियो । त्यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सभापति र कोषाध्यक्ष तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सचिव र सदस्य पदमा मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तर्फ सबै पद अनेरास्ववियुले हात पारेको भए पनि समानुपातिकमा भने एउटा सीट नेबिसंघले प्राप्त गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *