वन डढेलो लाग्नै नदिने सरोकारवालाको प्रतिबद्धता

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जिल्ला भित्र वन डढेलो लाग्नै नदिने प्रतिबद्धता जनाएका छन् । वन डढेलो सचेतना सप्ताहको अवसरमा डिभिजन वन कार्यालय म्याग्दीले आयोजना गरेको वन डढेलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय समन्वय बैठकमा उक्त प्रतिबद्धता जनाइएको हो । जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा निकाय एवम् सरोकार वाला क्षेत्रका प्रतिनिधिहरुले डढेलो लागेमा तत्काल नियन्त्रणका लागि प्रयास गर्नुका साथै सकभर डढेलो लाग्नै नदिने प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्ला भित्र रहेका वन क्षेत्र मध्ये ६० प्रतिशत भन्दा धेरै भिरालो क्षेत्र भएकोले डढेलो लागेमा नियन्त्रण गर्नै कठिन हुने भएकोले डढेलो लाग्नै नदिनका लागि प्रयास गरिनु पर्ने बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि थापाले डढेलो लगाउनेलाई कानुनी दायरामा अहिले सम्म ल्याउन सकेको आफूलाई जानकारी नभएको बताउँदै त्यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याएको खण्डमा पनि वन डढेलो लगाउनेहरु कम हुने बताउनुभयो ।

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश भित्रबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत डिभिजन वन कार्यालयले आगामी दिनमा पनि आफ्नो स्तरीयतालाई कायम गर्दै वन तथा वन्यजन्तुका साथै अन्य वन जन्य चिजको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेमा आफू आशावादी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त प्रमुख मनोज रानाभाटले नेपाल सरकारको नीति अनुरुप आफूहरुले तदारुकताका साथ काम गर्ने बताउनुभयो । उहाँले आगालागि भएको खण्डमा नियन्त्रण छिटो गर्न प्रयास गर्नु पर्नेमा जोड दिनुभएको थियो । वन हाम्रो सम्पत्ती भएकोले वनमा आगो लाग्नै दिन नहुने उहाँको भनाई थियो ।

कर्याक्रमको अवसरमा डिभिजन वन कार्यालयले पश्चिम म्याग्दीको दरवाङमा रहेको इलाका प्रहरी कार्यालयलाई अग्नीनियन्त्रण सामग्री हस्तान्तरण गरेको थियो । अग्नी नियन्त्रणको समयमा प्रयोग हुने ९ प्रकारका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रनाउ कुँबर मार्फत हस्तान्तरण गरिएको हो ।

डिभिजन वन कार्यालयका योजना अधिकृत नरवहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँबर, सशस्त्र प्रहरीबललगायतको उपश्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *