वित्तीय साक्षरता अभियानलाई प्रभावकारी बनाऔँ : जि.सी.

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीका सदस्य लगायत आम जनताको आम्दानी बढाउन, खर्च घटाउन र नियमित वचतका लागि वित्तीय साक्षरता अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको प्राविधिक सहयोगमा काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बानपा–३ ले सोमबार आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रत्येक व्यक्ति र परिवारले आम्दानी कति भयो, खर्च कति भयो र वचत भयो कि भएन भनेर जानकारी लिनका लागि वित्तीय साक्षरताले सहयोग गर्ने भएकाले सबैलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराउनु पर्नेमा उहाँको जोड थियो ।

वित्तीय साक्षरता समुदाय र वित्तीय संस्था दुवैका लागि फाइदाजनक छ । वित्तीय साक्षरताले पैसाको उचित व्यवस्थापनका लागि आवश्यक पर्ने ज्ञान, सीप र व्यवहारको बारेमा सिकाउछ जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकी जिसीले भन्नुभयो,–‘वित्तीय साक्षरता भनेको वित्तीय संस्था र सहकारीका लागि हो भन्ने सोचाई त्यागेर आम समुदायकाबीचमा यो अभियानलाई लैजान आवश्यक छ ।’

युवा वर्गका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नका लागि उहाँले सबै सहकारीहरुलाई आव्हान गर्नु भएको छ । नेपाल राष्ट्र बैंकको समन्वयमा चैत ६ देखि १२ गतेसम्म मनाउन लागिएको ग्लोवल मनि विक २०२३ अन्तरगत सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ्चालन गर्न आव्हान गरेको छ । सोही अनुसार आदर्श सञ्चार सहकारीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्थाका सचिव सरिता पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक अम्बिका जिसीले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै सहकारीहरुले सदस्यहरुका बीचमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्थाका उपाध्यक्ष सिता शर्माको अध्यक्षता, सचिव सरिता पन्तको सञ्चालन र कोषाध्यक्ष सावित्रा खड्का केसीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *