एमालेको मिसन ग्रासरुट : ‘खेतीयोग्य जमिन बाँझो पारेर जंगल फोडेर खेती गर्न विदेश जान्छौ’

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान यतिबेला ग्रासरुट अर्थात भूइमा छ । यो अभियानका क्रममा टोल टोलमा एमालेका लाखौ नेता कार्यकर्ता पार्टी अभियान र जीवन पद्दतीका बारेमा छलफल गरिरहेका छन् ।

छलफलका क्रममा पार्टीलाई व्यवस्थित बनाउने विषयमा धेरै विमर्श हुन्छ, स्थानीय विकास निर्माणदेखि राष्ट्रिय राजनीतिसम्म, स्वदेशदेखि विदेशसम्मका चर्चा परिचर्चा हुने गरेको अभियानमा संलग्न कार्यकर्ताहरु बताउछन् ।

अभियानकै क्रममा बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नं. २ को टोल भेलाका एक सहभागीले स्वदेशमा खेती छोडेर जग्गा बाँझो बनाउने युवाहरु विदेशमा जंगल फाडेर खेती गर्न जान्छौ भन्दै यस्तो नियतीको अन्त्य कहिले हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

अभियानका क्रममा सहभागी सबैले आफ्ना सुझाव, सल्लाह, जिज्ञासा र गुनासाहरु राख्ने क्रममा स्थानीय कृष्ण गौतमले विदेशमा अर्काका लागि खाना उत्पादन गर्न जान्छौ, घरमा परिवारका सदस्यका लागि खाना दिने जग्गा बाँझो राख्न वाध्य भएको बताउनुभयो ।

मुलुक आर्थिक रुपमा संकटमा पर्दैछ, खाद्यान्नको बारेमा कोही कसैलाई मतलव छैन, उत्पादन घट्दो छ, यस्तो अवस्थाको अन्त्यका लागि राजनीतिक दलहरुले प्रभावकारी कदम चाल्नु पर्ने उहाँको सुुझाव छ ।

सरकार हुने खानेको पक्षमा छ, जागिरेहरुको प्रत्येक वर्षजस्तो तलव बढाउछ, त्यो पनि प्रतिशतका आधारमा, तलव बढ्न पाएको छैन, मूल्य आकाशिन्छ, यसको मार मजदुर, किसान लगायत श्रम गरेर जीवन गुजारा गर्नेलाई पर्छ, राज्य सञ्चालनको जिम्मेवारी लिएका राजनीतिक दलहरुले खाद्यान्न, शिक्षा, स्वास्थ्य जस्ता विषयमा कहिले ध्यान दिने ? शर्माको दुखेसो थियो ।

मिसन ग्रासरुट अभियानका क्रममा एमालेले मुलुकको स्वाधिनताका लागि लिएको अडान, विकास निर्माणका लागि देखाएको सपना, विपन्न तथा कमजोर वर्गका जनताका लागि ल्याएको सामाजिक सुरक्षा लगायतका सहयोगी कार्यक्रमहरुका कारण आम जनताका बीचमा एमाले लोकप्रिय पार्टीका रुपमा स्थापित भएको कार्यकर्ताहरुको भनाइ छ ।

पार्टीका कार्यकर्ता तथा समर्थक सुभेच्छुकहरुले पार्टीले मिसन ग्रासरुट जस्तै अभियान नियमित रुपमा सञ्चालन गर्नका लागि सबै कमिटिहरुलाई निर्देशन दिन सुझाव दिएका छन् । वडा, पालिका, प्रदेश र केन्द्रीय सरकारले जनताका पक्षमा गरेका काम र एमाले नेतृत्वसंगको समन्वयका बारेमा पनि उनीहरु सचेत छन, एमालेले जहिले पनि सबैलाई फाइदा हुने कार्यक्रम ल्याउने गरेको र अन्य पार्टीहरुले आफ्नो पार्टीका कार्यकर्तालाई केन्द्रीत गर्ने गरेको आरोप पनि एमालेका समर्थकहरुले लगाएका छन् ।

साविक भीमोखरा वडा नं. २ र ३ मा आयोजित टोल भेलामा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य कोपिला खरेल सापकोटा, काठेखोला कमिटिका सचिव एवम् वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्मा, एमाले भीमापोखराका अध्यक्ष नारायणदत्त रेग्मी, जनप्रतिनिधिहरु सुरेश थापा, भीम केसी र चन्द्रकला थापा लगायतले पार्टीको अभियान र नेता कार्यकर्ताहरुको भूमिका विषयमा जानकारी गराउनु भएको थियो ।

साविक वडा नंं २ को टोल भेलाको अध्यक्षता टोल कमिटिका संयोजक सूर्य बहादुर मल्ल र वडा नं. ३ को भेला टोल कमिटिका संयोजक कृष्ण कंडेलको अध्यक्षता तथा एमाले भीमापोखराका सचिव ऋषिराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्