एमालेको मिसन ग्रासरुट अभियान : ‘कार्यकर्ताहरु भन्छन्, जनसंगठन क्रियाशिल भएनन्’

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नं. ६ र ७ मा टोल भेला सम्पन्न भएको छ ।

टोल भेलाका सहभागीहरुले पार्टीका जनसंगठनरुलाई क्रियाशिल बनाउने योजना ल्याउन पार्टी नेतृत्वसंग माग गरेका छन् । केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा हुदै पार्टीको सबै भन्दा तल्लो संरचनाका रुपमा रहेको टोल कमिटिमा पुगेको मिसन ग्रासरुट अभियानका क्रममा कार्यकर्ताहरुले जनसंगठनका वैठक, कार्यक्रम र अभियान नभएका कारण युवा पुस्ता राजनीतिबाट टाढिएको बताएका हुन् ।

पार्टीलाई बलियो बनाउने, जनताका पक्षमा काम गर्न दवाव र खबरदारी गर्ने भनेको युवा पुस्ताले हो, तर पछिल्लो समय युवा पुस्ता राजनीतिबाट टाढा बन्दै गएकाले पार्टीले योजना तथा कार्यक्रमहरु बनाउदा जनसंगठनमार्फत युवा परिचालनमा ध्यान दिनु पर्ने सहभागीहरुको जोड थियो ।

पार्टीलाई सबल र सक्षम बनाउने जनसंगठनले हो, पार्टीमा युवा पुस्तालाई सहभागी गराउने र क्रियाशिल बनाउने जनसंगठनले हो, तर पछिल्लो समय जनसंगठनहरुको भूमिका प्रभावकारी नभएका कारण राजनीतिमा युवा सहभागिता घट्नुका साथै राजनीतिप्रति युवाको आक्रोश समेत बढ्दै गएको सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले पार्टीका सम्पूर्ण कमिटि र जनसंगठनहरुको वैठक, भेला लगायत रचनात्मक क्रियाकलाप गर्नका लागि आग्रह गर्नु भयो ।

पार्टीका काठेखोला गाँउपालिका कमिटिका सचिव एवं वडा नं. २ का अध्यक्ष विद्यापती शर्माले सहभागीहरुले राखेको जिज्ञासा तथा वडाका तर्फबाट साविक वडा नंं ६ र ७ मा भएका विकास निर्माण लगायत सामाजिक अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य कोपिला खरेल सापकोटा, काठेखोला गाउँपालिका कमिटिका सदस्य चन्द्रमणी उपाध्याय, वडा सदस्यहरु भीम केसी र चन्द्रकला थापाले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानबाट पार्टी कार्यकर्ताहरुको उत्साह बढेको र थप क्रियाशिल हुन सहयोग पुगेको बताउनु भएको थियो ।

भिमापोखरा साविक वडा नं. ६ मा भएको कार्यक्रमको अध्यक्षता टोल कमिटिका संयोजक भीम सार्की र साविक वडा नं. ७ मा भएको भेलाको अध्यक्षता जेष्ठ सदस्य लिलाराम थापको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै टोल भेलाको सञ्चालन पार्टीका वडा कमिटि अध्यक्ष नारायणदत्त रेग्मीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *