आदर्श अनलाइन, म्याग्दी
नेकपा एमालेको पोलिटब्यूरो सदस्य मनकुमारी केसीले नेपाली कम्युनिष्टहरु आचरण र व्यवहारमा परिवर्तन ल्याउनका लागि नेकपा एमालेले मिसन ग्रासरुट सुरु गरेको बताउनु भएको छ ।
नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढिकरण तथा विस्तार अभियान अन्तरगत नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) जिल्ला कमिटि म्याग्दीको अयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले विगत र वर्तमानमा फेरिएको कम्युनिष्ट आचरण जनताको अवस्था के छ भनेर घरघरमै पुगेर बुझ्नका लागि मिसन ग्रासरुट कार्यक्रम तय गरिएको बताउनुभयो ।
भारतले मिचेका सिमाना फिर्ता गर्ने, सुखी नेपाली समृद्ध नेपाल परिकल्पना गरेर कार्यान्वयनको मार्गमा लैजाने केपी ओली नेतृत्वको सरकार गिराउनका लागि तत्कालीन अवस्थामा भएका नाजायज कार्यलाई निस्तेज पार्न संसद विघटन भएको उहाँको तर्क थियो ।
कार्यक्रममा क्युपेक नेपाल केन्द्रीयसचिव एवम् महिला विभाग प्रमुख बलादेवी राईले मजदुरको हकहितमा एमालेले बढी सोचेको बताउँदै योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम मजदुरका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बेनी नगर कमिटी अध्यक्ष राजकुमार राईले राजनैतिक पार्टीले मजदुरको समस्याको सुनुवाइ गर्नुपर्ने बताउनुभयो । क्युपेक नेपालका अध्यक्ष महाप्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुजा छन्त्यालले गर्नुभएको थियो ।