सरकारले सहकारीका समस्या समाधान नगरे आन्दोलनको विकल्प छैन : मल्ल

सरु थापा, बागलुङ

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक (आइसीए ग्लोवल बोर्ड मेम्बर) ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसग माग गर्नु भएको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङद्वारा शुक्रवार बागलुङमा आयोजित सहकारीमा महिला सहभागिता विषयक जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन पछि बोल्दै मल्लले यस्तो बताउनु भएको हो ।

हामीले जहिले पनि शान्तिपूर्ण र भद्र रुपमा हाम्रा माग राखेका छौ, सरकारका तर्फबाट हाम्रा मागको सुनुवाई गर्ने काम भएको छैन, अभियानले सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा न्यायाधिकरण स्थापना लगायतका ऐन कार्यान्वयनका माग राखेको छ, महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो,–‘सरकारले सहकारीका माग अब पनि सुनेन भने हामी चरणवद्ध आन्दोलन गर्ने तयारीमा छौ, नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुन्छ ।’

अभियानका तर्फबाट धेरै पटक प्रधानमन्त्री, मन्त्री, सचिव, रजिष्ट्रार लगायत सरोकारवालाहरुलाई सहकारीका समस्या समाधान गर्न अनुरोध गरेका छौ, अब अन्तिम पटक ध्यानाकर्षण गराउछौ, यदी अभियानका माग अब पनि सुनुवाई भएनन् भने देशभरका सहकारीकर्मीहरुलाई सडकमा उतार्न हामी वाध्य हुनेछौ, मल्लले भन्नुभयो ।

राज्यले अर्थतन्त्रको तीन खब्बे नीतिमा सहकारीलाई राखेपनि व्यवहारमा त्यस्तो नपाइएको बताउनुभयो । अस्थिर सरकारका कारण सहकारीको वृद्धि र विकासमा समस्या आएको उहाँको भनाइ छ । “सहकारीका विषयमा कानून संसोधन, वर्तमान समस्या लगायतका विषयमा सहकारी मन्त्री, विभाग तथा सरोकारवाला क्षेत्रको ध्यानआर्कषण गराउदै आएका छौैं, उहाँहरुले काम समेत थाल्नुहुन्छ तर अस्थिर सरकारका कारण उहाँहरु सहकारीको विषय बुझ्न नपाउदै जानुहुन्छ”–मल्लले भन्नुभयो ।

महिलाहरुलाई नेतृत्वमा अग्रसर हुन आव्हान गर्दै उहाँले लगनशीलता, अध्ययन र निरन्तरको कार्यका कारण मात्रै महिलाहरु नेतृत्वमा आउन सक्ने बताउनुभयो ।

उहाँले महिलाले नेतृत्व गरेका सहकारीहरुले राष्ट्रिय रुपमा सकरात्मक सन्देश दिएको चर्चा गर्दै महिलाहरु सामाजिक रुप सक्षम बन्ने भरपर्दो माध्यम सहकारी भएको बताउनुभयो ।सहकारी महिलाहरुको नेतृत्व र आर्थिक विकासको भरपर्दो माध्यम रहेको उहाँले बताउनुभएको छ ।

“सहकारीमा आबद्धताले सहकारीको मात्रै विकास हुदैन, महिलाहरुको नेतृत्वको विकास गर्नेछ, आर्थिक रुपमा महिलाहरुलाई मजबुत गराउदछ, सहकारीमा लागेका महिलाहरु अहिले सांसद भइसकेका छन्, जुन उदारण यही बागलुङमा छ” मल्लले भन्नुभयो “महिलाहरुलाई चुलो र चौकाबाट बाहिर ल्याउने माध्यम अब सहकारी हो, सहकारीले नेतृत्व मात्रै हैन महिलाहरुलाई आर्थिक विकासमा सहयोग गर्दछ ।”

महिलाले नेतृत्व गरेको सहकारीहरु अझै पारदर्शी र नविनतम भएको पाइएको मल्लको भनाई छ ।सदस्यले सहकारीको विषयमा नबुझ्दा अहिले सहकारीमा केही समस्या आएको भन्दै सदस्यहरुले नै सहकारीलाई जोगाउने जिम्मेवारी रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा विभिन्न १७ सहकारी संघ संस्थाहरु सह–आयोजक बनेर सहकारीमा महिला सहभागिता र नेतृत्व विषयक जिल्ला स्तरीय गोष्ठीको आयोजना गरिएको थियो ।कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउदै विभिन्न क्षेत्रमा नेतृत्वमा पु¥याउनका लागि सहकारी भरपर्दो माध्यम भएको बताउनुभयो ।

गोष्ठीले सबल सहकारी निर्माणमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सहयोग पु¥याउने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो । जिसीका अनुसार महिलाहरु सहकारीमा अग्रसर हुँदा परिवारको आर्थिक विकासमा टेवा पु¥याउनुका साथै मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने भएकाले महिला गोष्ठी आयोजना गरिएको बताउनुभयो । गोष्ठीले नौ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

अहिलेको सहकारीमा आएको समस्याका विषयमा महिलाहरु अवगत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।


गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा महिला सहभागिता र नेतृत्व विषयमा तथा संघका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारीको दिगोपन ः स्वनियमन र सुशासन विषयमा सहजीकरण गर्नुभएको थियो । सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि निरन्तर शिक्षा, समन्वय र सहकार्यमा जोड दिइएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्माले महिला गोष्ठीको निष्कर्षका रुपमा जारी गरिएको नौ बुँदे घोषणा पत्र बारे जानकारी गराउनु भएको थियो ।

गोष्ठी जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी
(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । गोष्ठी सम्पन्न गर्न सहयोग गर्ने जिल्लाका १७ वटा सहकारी संघ संस्थालाई प्रशसा पत्र प्रदान गरिएको थियो ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा हरेक वर्ष विविध कार्यक्रम हुदै आएका छन् । यस वर्षको सहकारी बजार सरसफाई, अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रम हुने भएका छन् ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा चैत १८ गते बजार सरसफाई र २० गते मुल समारोह, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारीको दिगोपन ः स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *