सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै ९ बुँदे घोषणा पत्र जारी

आदर्श अनलाइन, बागलुङ
सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै बागलुङका सहकारीकर्मी महिलाहरुले ९ बुँदे घोषणापत्र जारी गरेका छन् ।

राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शुक्रबार आयोजना गरेको सहकारीमा महिला सहभागिता विषयक जिल्ला स्तरीय महिला गोष्ठीका सहभागीहरुका तर्फबाट ९ बुदे घोषणा पत्र जारी गरिएको हो ।

सहकारीका सदस्यमा महिलाको संख्या ५६ प्रतिशत भन्दा धेरै छ, सहकारी सञ्चालनका लागि महिलाको सहभागिता सबै हिसावले अर्थपूर्ण छ, तर नेतृत्वमा सहकारी ऐनमा व्यवस्था भएको ३३ प्रतिशत सहभागिता पनि कार्यान्वयन भएको छैन, जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले भन्नुभयो,–‘अब सहकारीका सबै तहको नेतृत्वमा महिलाको अनिवार्य ३३ प्रतिशत सहभागिता र त्यसमा पनि पदाधिकारीमा अनिवार्य गर्नु पर्दछ ।’

गोष्ठीबाट सहकारी ऐनमा व्यवस्था भए अनुसार सहकारीका सबै तहका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उप–समितिहरुमा महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न तथा पदाधिकारीमा अनिवार्य महिलाको सहभागिता गराउन माग गरिएको छ ।

यस्तै सबै सहकारी संघ संस्थाहरुले महिलाको क्षमता विकासका लागि नियमित शिक्षा, तालिमका कार्यक्रम आयोजना गर्ने, शेयर सदस्य महिलाहरुलाई नेतृत्व विकासका लागि प्रोत्साहन गर्नुका साथै महिला उप–समिति गठन गरी महिलाको क्षमता अभिवृद्धि, सीप प्रवद्र्धन, प्रविधिमा पहुँच लगायत दक्षता बढाउने खालका तालिम, गोष्ठी तथा अन्तरक्रियाहरु गर्न आव्हान गरिएको छ ।

सहकारीमा लागेका महिला शेयर सदस्यहरुको सक्रियता बढाउदै व्यावसायिक रुपमा दक्ष बनाउन, उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै महिलाहरुद्वारा सञ्चालित सहकारी संस्थाहरुको संस्थागत विकासका लागि सरोकारवालाहरुले नियमित शिक्षा लगायत प्रविधि र सीप प्रवद्र्धनमा सहयोगका लागि आग्रह गरिएको छ ।

महिला सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा देखिएको तरलता संकट व्यवस्थापनका लागि राज्यले कोषको व्यवस्था गरी महिलाद्वारा सञ्चालित सहकारीहरुलाई प्राथमिकताका लागि पहल गर्नु पर्ने, केही नेपाल ऐनलाई संशोधन गर्न प्रस्तावित विधेयक २०७९ मा प्रस्तावित व्यक्तिगत वचतको सिमा २५ लाख राख्ने प्रावधान खारेज गर्नु पर्ने, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण तत्काल स्थापना गर्नु पर्ने माग गरेका छन् ।

सहकारी संस्थामा सुशासन कायम राख्न ऐन कानुनको पुर्ण परिपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै संकटको अवस्थामा सहकारीहरुबीच समन्वय र सहकार्य गर्दै समस्या समाधानका लागि ऐक्यवद्धता जाहेर गर्दछौ ।

गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले गर्नु भएको थियो । गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा महिला सहभागिता र नेतृत्व विषयमा तथा संघका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारीको दिगोपन ः स्वनियमन र सुशासन विषयमा सहजीकरण गर्नुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्माले महिला गोष्ठीको निष्कर्षका रुपमा जारी गरिएको नौ बुँदे घोषणा पत्र बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *