ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन बुर्तिबाङमा

लोकेन्द्र निरासी, बुर्तिबाङ

ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभा बुर्तिबाङमा संचालन भइरहेको छ । उक्त अधिवेशनको उद्घाटन शनिबार प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले गर्नुभएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टचनले ढोरपाटन स्वर्गको एक टुक्रा भएकाले यस क्षेत्रको विकास र समृद्धिमा सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो—“यस क्षेत्रमा तामाखानी, फलामखानी, ढुंगाखानी, वनपैदावार, जडिबुटी, जलविद्युत लगायत स्रोत साधनको प्रचुर सम्भावना भएकाले तिनीहरुको उत्पादन र प्रयोग गर्नसके ढोरपाटन क्षेत्रको विकासले छिटै फड्को मार्ने छ ।” साथै उहाँले वैदेशिक रोजगारीबाट भित्रने रेमिट्यान्सलाई विकास र उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने सके विकासका ढोकाहरु खुल्ने समेत बताउनु भयो ।

उहाँले उद्योग वाणिज्य संघ व्यवसायी एवं उद्यमीहरुको साझा संस्था भएकाले यसलाई सबैको अपनत्व हुने गरी संस्थागत र व्यवसायिक बनाएर अगाडि बढ्न समेत आग्रह गर्दै शुभकामना दिनुभएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं गण्डकी प्रदेशसभा सदस्य जित बहादुर शेरचन, दिलमाया पौबी, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख कल्याण कायत, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टेकराज पौडेल, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य टंक प्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरिश्वर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गलकोट उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख शालिकराम शर्मा, निसीभुजी जनता क्याम्पसका संचालक समिति अध्यक्ष शान्तराज शर्मा, संस्थाका द्धितीय उपाध्यक्ष उत्तम बहादुर महत, बागलुङ उद्योग वाणिज्य संघ इकाइ समिति बुर्तिबाङका संस्थापक अध्यक्ष एवं समाजसेवी हर्क बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले ढोरपाटन क्षेत्रको विकास र समृद्धिमा जोड्दै संस्थालाई व्यवसायिक बनाएर लैजानु पर्ने, व्यवसायीहरुका पेशागत समस्याहरुलाई संवोधन र समाधान गरिनुपर्ने, स्रोत साधनको परिचालन र आन्तरिक उत्पादनमा जोड दिनुपर्ने, ढोरपाटन क्षेत्रको विकास र उद्यमशीलतालाई जोड दिनुपर्ने, तीन ओटै तहका सरकारले यस क्षेत्रको विकासमा ध्यान दिनुपर्ने लगायतका विषयहरुमा जोड दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चिन्तामणि शर्माले संस्थाको स्थापनादेखि अहिलेसम्म हर पक्षबाट सहयोग गर्ने उद्यमी व्यवसायी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले अत्यन्तै कठिन परिस्थितिमा पनि संस्थाले विभिन्न सकारात्मक काम गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भएकाले आगामी दिनमा पनि संस्थागत विकासमा सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा बुर्तिबाङ क्षेत्रका उद्यमी तथा व्यावसायीहरुको व्यापक उपस्थिति रहेको छ ।

अधिवेशनको बन्दसत्रबाट विधिवत रुपमा आइतबार नै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमिति चयनका लागि सकेसम्म सर्वसम्मत हुने गरी छलफललाई जोड दिइएको आयोजकले जनाएको छ । ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष निमलाल पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका सदस्य ज्ञान प्रसाद कँडेल र यामु पौवीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *