आदर्श अनलाइन, बागलुङ
बागलुङका सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सकारात्मक सन्देश प्रवाह गर्न शेयर सदस्यहरुलाई आव्हान गरेका छन् ।
राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखाले आज बिहान आयोजना गरेको समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । केही सहकारीमा आएको समस्याका कारण सबै सहकारीमा हुल बाधेर वचत फिर्ताका लागि जादा समस्या हुने भएकाले संकटको यो समयमा धैर्यता र समन्वयकारी भूमिका खेल्न शेयर सदस्यहरुलाई सञ्चालकहरुले आव्हान गरेका हुन् ।
सहकारीका सदस्यहरुको रकम सुरक्षित गर्ने जिम्मेवारी सञ्चालकहरुको हो, सबै संस्थाका सञ्चालकहरुले सदस्यहरुलाई संस्थाको यथार्थ अवस्थाका बारेमा यथार्थ जानकारी गराउने, उनीहरुका बीच गएर समस्याका बारेमा संस्थाको समग्र अवस्थाका बारेमा छलफल गर्ने प्रतिवद्धता सहकारीकर्मीहरुले गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले बागलुङका केही सहकारीमा आएको र त्यसको समस्या समाधानका लागि अभियानको तर्फबाट पहल भैरहेकोले सबैलाई धैर्यताका साथ समन्वयकारी भूमिका निर्वाह गर्न आव्हान गर्नु भयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशक संयोजक राम बहादुर जिसीले सहकारीका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुले आफ्नो संस्थाको यथार्थ अवस्था जानकारी गराउन र समन्वयकारी भूमिका निर्वाह गर्नका लागि सम्वाद गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्माले समस्या आइसकेपछि समाधनका लागि सबै मिलेर लाग्नु पर्नेमा जोड दिदै जिल्ला सहकारी संघ बागलुङको अगुवाईमा समस्या देखिएका सहकारीहरुको जोखिम यूनिकरणका लागि गंभिरताका पहल भैरहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो ।