नेपाल कृषि सहकारी केन्द्रीय संघ विश्वकै उत्कृष्ट : एफएओ अवार्डबाट पुरस्कृत

आदर्श अनलाइन, बागलुङ

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले बिहीवार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघले प्राप्त गरेको अवार्डका बारेमा जानकारी गराइएको हो ।

एफएओ यूएनले महासंघका सदस्य संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरु मध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको संघका अध्यक्ष खेम पाठकले बताउनुभयो ।

एफएओले संघलाई सहकारीलाई सुशासन र संस्थागत विकास गर्नका लागि क्षमता अभिवृद्धि गरेको, साना किसानका जटिल कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पु¥याउन सक्षम भएको, नेपालमा भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गर्न सक्षम भएको भन्दै पुरस्कृत गरेको हो ।

बैशाख ११ गते एफएओको हेडक्वाटर इटलीको रोममा सो अवार्ड प्रदान गरिएको थियो । संघका अध्यक्ष पाठक अवार्ड लिनका लागि रोम पुग्नु भएको थियो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपाल कृषि सहकारी केन्द्रीय संघले पाएको अवार्डले देशकै गौरव बढाएको भन्दै वधाई ज्ञापन गर्नु भएको थियो ।

पत्रकार सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल सरकार र एशियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेकोमा वेष्ट प्रोजेक्ट म्यानेजमेण्ट अवार्ड प्रदान गरेको समेत जानकारी गराइएको थियो ।

ग्रामिण उद्यम वित्तीय परियोजनाका लागि ५ अर्ब ६५ करोड रुपैया सहुलियतपूर्ण ऋण प्रवाह गरी व्यवसायिक कृषि विकासमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोइरालाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *