सरकार र सहकारी मिलेर समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत

आदर्श अनलाइन, काठमाडौँ
अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको वर्तमान परिवेशमा सहकारी अभियानका समस्या समाधान गर्न सरकार र सहकारी अभियान मिलेर जानुपर्ने बताउनु भएको छ । सहकारी समस्या समाधान संयोजन समितिको माग पत्र बुझ्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो । समितिले आईतबार अर्थमन्त्री महतलाई १३ बुँदे मागपत्र बुझाएको हो । सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि समितिले यस अघि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तथा सहकारी विभाग र ७ वटै प्रदेश सरकारलाई माग पत्र बुझाईसकेको छ ।

अर्थमन्त्री महतले सहकारीता समुदायमा परिचित व्यक्तिहरुद्वारा स्थापित र आन्तरिक नियन्त्रणका आधारमा सञ्चालन हुने पद्दति भएकोले वैक तथा वित्तीय संस्था भन्दा फरक पहिचान कायम राख्नु पर्नेमा जोड दिदै मागहरुलाई छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।वित्तीय क्षेत्रमा देखिएको संकटसंगै सहकारीमा पनि समस्या देखिएको भन्दै अर्थमन्त्री महतले सामुहिक प्रयासद्वारा सहकारीका समस्या समाधान गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेंलले सहकारी अभियानको प्रवद्र्धन तथा समस्या समाधानका लागि आगामी आ. व. ०८०/०८१ को वार्षिक नीति, कार्यक्रम, वजेट र अर्थविधेयकमा समावेश गर्नु पर्ने विभिन्न सुझावहरुबारे जानकारी गराउनुभयो । उहाँले सहकारीको नियमनका लागि छुट्टै दोस्रो तहको संस्था स्थापनामा समेत जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघद्वारा गठित सहकारी समस्या समाधान संयोजन समितिका संयोजक ओमदेवी मल्लले सहकारी समस्या समाधान समितिद्वारा घोषित १३ वुँदे माग प्रस्तुत गर्दै समाधानका लागि अर्थमन्त्री महतको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिका कारण सहकारीहरुमा तरलताको समस्या देखिएको भन्दै सरकारका तर्फवाट तरलता व्यवस्थापनका लागि १० अर्ब सहुलियत कर्जा उपलव्ध गराउन र सहकारी ऐन नियममा भएका प्रर्वद्धनात्मक व्यवस्थाहरुको कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले माग पुरा नभएमा सहकारी अभियान वाध्यतावश दोश्रो चरणको आन्दोलनमा जाने बताउनु भयो ।

महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी वैंकका अध्यक्ष के वी उप्रेती, महासंघका सञ्चालक तथा संयोजन समितिका सदस्य राजेन्द्र पौडेल, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय सहकारी वैंकका सञ्चालक रामहरी वजगाँई र बाल कुमार वास्तोलाले सहकारी अभियानका समस्या समाधान गर्न सरकारले ध्यान दिन जोडदिनुभएको राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *