विकासका मामलामा बागलुङका जनप्रतिनिधि चुकेको आनन्दराज मुल्मीको आरोप

आदर्श अनलाइन, बागलुङ
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले बागलुङका जनताको जीवनस्तर माथि उठाउने विषयमा जिल्लाका जनप्रतिनिधिहरु चुकेको आरोप लगाउनु भएको छ ।

सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीसंगको सहकार्यमा बागलुङ उद्योग वाणिज्य संघले बुधवार बिहान आयोजना गरेको सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रियामा बोल्दै मुल्मीले यस्तो बताउनु भएको हो । राजनीतिक रुपमा उहाँहरु सक्षम हुनुहुन्छ होला तर जनताको जिवन स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा बागलुङबाट संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व गर्ने पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु चुकेको उहाको आरोप छ ।

बागलुङलाई समृद्ध बनाउने धेरै संभावनाहरु छन, बागलुङ विकासका दृष्टिकोणले महत्वपूर्ण आधार क्षेत्र हो, यहाँका संभावनाहरुका बारेमा विगतदेखि अहिलेसम्म जनताबाट चुनिएका प्रतिनिधि, राजनीतिक दलका नेता लगायतको भूमिका हेर्दा कमजोर देखियो, महासंघका पूर्व अध्यक्ष मुल्मीले भन्नुभयो, – बागलुङको दिर्घकालिन विकासका लागि उहाँहरुको भूमिका खोई ? अब जनताले खोज्नु पर्ने भयो ।

ढोरपाटन शिकार आरक्ष यही छ, उत्तरगंगा जलाशय बनाउने कुरा चलिरहेको छ, लामो समयदेखि त्यसलाई बनाउन नदिने चलखेल भइरहेको छ, तर बागलुङका जनप्रतिनिधिले त्यसलाई सञ्चालन गर्न सकेनन्, रुकुमका एकजना सांसद जनार्दन शर्माले बागलुङको समग्र नेतृत्वलाई चुनौति दिदा पनि यहाँका जनप्रतिनिधिले केही गर्न सकेनन्, मुल्मीले चिन्ता व्यक्त गर्नु भयो ।

तपाईहरु अगाडि लाग्नुस, हामी साथ दिन तयार छौ, मुल्मीले भन्नुभयो, बागलुङको विकासका लागि तपाईहरुको अगुवाई चाहियो, निर्वाचन जित्ने, पदमा जाने मात्र होइन, बागलुङवासीको जीवनस्तरमा परिवर्तन ल्याउन के गर्नु पर्छ, कसरी बागलुङको दिगो विकास संभव छ भन्ने कुरामा यहाँहरुको कहि कतै भूमिका देखिदैन ।

उद्योगी व्यापारीहरुको प्रवद्र्धनको नेतृत्व गर्ने बागलुङ उद्योग वाणिज्य संघको भूमिका पनि कमजोर देखियो, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने, समन्वय गरेर जनताका काम गर्न लगाउने जिम्मेवारी उद्योग वाणिज्य संघको हो, तर भूमिका प्रभावकारी देखिएन, मुल्मीको चासो थियो ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सरुवा भएर आयो कि खादा, माला बोकेर स्वागत गर्न उद्योग वाणिज्य संघ किन जान्छ, सिडियो र एस्पीलाई स्वागत गर्नेमा बागलुङ एक नम्बरमा छ ? यस्तो किन गर्नु पर्छ, जनताले के बुझ्छ, तपाईहरुको भूमिकालाई जनताले नियाली रहेका छन, त्यहाँ तपाईहरुको स्वार्थ बाझिदैन ? चाकडी गर्ने होइन खबरदारी गर्ने हो, उहाहरुले राम्रो काम गरेपछि जाने बेलामा विदाई गरे भइहाल्यो नि ? उहाँले सुझाव दिनुभयो ।

व्यवसायीहरु यतिबेला संकटमा हुनुहुन्छ, यस्तो बेलामा सबै व्यवसायीहरुको हितका लागि उद्योग वाणिज्य संघले संयोजनकारी भूमिका खेल्दै उनीहरुलाई ढाडस दिने, धैर्यताका लागि सहयोग गर्नु पर्नेमा उहाँको जोड थियो ।

आफ्नो पूँजी लगानी गरेर उद्योग व्यवसाय गरेका उद्योगी व्यवयासीलाई सरकार, दलका नेता र जनताले किन घुसखोरी बढाउने, विचौलिया, कमिशनखोरी, राजस्व चोरी गर्ने जस्ता आरोप लगाउछन्, कही हाम्रो कमजोरीले त होइन, कमजोरी छ भने सुधार गर्नु पर्छ र यस्ता आरोपहरुको प्रतिवाद गर्न सक्नु पर्छ, मुल्मीले भन्नुभयो ।

जनप्रतिनिधि, दलका नेताहरु र कर्मचारीले उद्योगी व्यवसायीहरुको साथ नलिइ विकास गर्न नसक्ने भएकाले समन्वयकारी भूमिका निर्वाह गर्न उहाँले उद्योग वाणिज्य संघलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष रविन्द्र बाँस्तोलाले भ्रष्टाचार न्यूनिकरणका लागि नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतसंग सहकार्य गरेर सुनासले काम गर्दै आएको जानकारी गराउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता, द्वितिय उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको धन्यवाद र महासचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, बानपा–२ का जनप्रतिनिधि विदेशकुमार श्रेष्ठ, व्यवसायी रामचन्द्र शर्मा लगायतले सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *