भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई तत्काल कारबाही गर्न माग

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । शुक्रबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । पार्टीले प्रजिअ श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा भनिएको छ– ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ, देशमा सुशासनको अभाव र दण्डहीनताले प्रश्रय पाउँदै गरेको स्थितिमा यो काण्डमा गृहमन्त्रालयले तदारुकताका साथ छानबिन र कार्यवाहीलाई अगाडि बढाउनु एउटा सुखद परिघटना हो, अहिले यस काण्डका एकपछि अर्को रहस्य सतहमा आउँदैछ, उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरमा पर्दै गएका छन्, घटनाको प्रकृतिले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको अपराध समेत हो भन्ने देखाएको छ ।’

पार्टीले राज्यका जिम्मेवार उच्च पदस्थहरुबाटै घृणित कार्य भएको भन्दै घटित यस काण्डको सत्यतथ्य छानबिन र दोषी उपर सख्त कारवाही गर्न माग गरेको छ । छानबिनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव पार्ने गरि दौडढुप भएका कुराहरु बाहिरिएको भन्दै यस खालका प्रयत्न र प्रवृतिप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण भएको छ ज्ञापन पत्रमा उल्लेख छ ।

‘स्वार्थ समूह र शक्तिकेन्द्रहरुबाटै नकारात्मक दबाब हुन सक्ने संभावनाप्रति संशय पैदा भएको छ, भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक कारवाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुँदै जान्छ, भ्रष्टाचारको अन्त्य र सुशासन समृद्ध राष्ट्रको अपरिहार्य आवश्यकता हो, तसर्थ कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस्, अनुसन्धानलाई नकारात्मक प्रभाव पार्न चाहने सम्पूर्ण प्रयत्नलाई निष्प्रभावी तुल्याउदै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सम्पूर्ण सामथ्र्य लगाओस्’ ज्ञापन पत्रमा उल्लेख छ ।

(एकीकृत समाजवादी) बागलुङका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतको सहभागितामा प्रजिअ श्रेष्ठलाई ज्ञापन पत्र बझाइएको थियो ।

May be an image of text

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *