आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ५ पुलाचौरमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट एक सय ५३ जना किसानहरुले सेवा लिएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गर्न थालिएको छ ।
कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले शिविरमा पशु, चौपायामा देखिएको रोगको लक्षणको आधारमा किसानहरुलाई औषधी वितरण गरिएको बताउँदै पशुपन्छीलाई संक्रमणजन्य रोगबाट जोगाउनुपर्ने बताउनुभयो ।
पुलाचौर क्षेत्रका एकसय ५३ जना किसानहरुले आफूले पालेका दुई हजार दुई सय पशुपन्छीहरुको उपचार गराएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । पुलाचौरमाा सञ्चालन भएको उक्त पशु स्वास्थ्य शिविरमा किसानहरुलाई पशु स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान, औषधी उपचार, बन्ध्याकरण, पशु चौपायाको गर्भ परीक्षण र पशुलाई खुवाउनका लागि किसानहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
बेनी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख प्रदीप गौतमले प्राविधिक सेवा सहज रुपमा उपलब्ध गराउन नसकिएको ठाउँमा पशु स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।