विप्लव नेतृत्वको नेकपाले अवरोध गर्दा रोकियो पत्रकार महासंघ म्याग्दीको भवन शिलान्यास

आदर्श अनलाइन, म्याग्दी
नेपाल पत्रकार महासंघ म्याग्दीको शवन शिलान्यास तयारी अन्तिम चरणमा आएर रोकिएको छ । बेनी नगरपालिकाले भाडामा दिएको जग्गामा विप्लव नेतृत्वको नेकपाले अवरोध गर्दा शिलान्यास रोकिएको हो । बुधबार भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको भए पनि अवरोध भएपछि स्थगित भएको पत्रकार महासंघ म्याग्दीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष ताराना शर्मा र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बीच वि.स. २०७६ पुस ३ गते पत्रकार महासंघलाई दश वर्षका लागि जग्गा भाडामा उपलब्ध गराउने सम्झौता भएको थियो ।

बेनी नगरपालिकाको वडा नम्बर ७ मा रहेको कित्ता न. १४१९ को ४ आना जग्गा भाडामा उपलब्ध गराउनका लागि २०७६ मंसिर १७ गते बसेको बेनी नगर कार्यापालिकाको पूर्ण बैठकको निर्णय अनुसार सम्झौता भए पनि नयाँ भवन निर्माण र त्यहाँको पुरानो भवन प्रयोगमा अवरोध हुँदा अन्यौल भएको पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

महासंघका शाखा अध्यक्ष प्रकाश पौडेलले नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको अवरोधका कारण बुधबारका लागि तय भएको भवन शिलन्यासको कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ ।

सम्झौता पछिका सबै आर्थिक वर्षहरुमा नगरपालिकालाई सम्झौता अनुसारको भाडा तिर्दै आएको भए पनि महासंघले संरचना प्रयोग गर्न नपाएको अध्यक्ष पौडेलले बताए । ‘हामीले वार्षिक रुपमा १० हजार रुपैयाँका दरले भाडा तिर्दै आएका छौ, तर हामीले भाडा तिरेको संरचनामा विप्लव नेतृत्वको समूह बस्दै आएको छ, उनीहरु बसेको भवन नभएर त्यहाँ रहेको खाली जग्गामा भवन बनाउन खोज्दासमेत अवरोध भयो’ उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको भवन बनाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ विनियोजन गरेको थियो । गत वर्ष पनि १० लाख रुपैयाँ विनियोजन भएको भए पनि योजना कार्यान्वयन हुन नसक्दा रकम फ्रिज भएको थियो ।

भवन शिलन्यास कार्यक्रमको तयारीसहित अतिथिहरुलाई पत्राचार गरिसकेको अवस्थामा भवन बनाउने र प्रयोग गर्ने विषयमा असहमति जनाउदै नेकपाले जेठ १ गते पत्रकार महासंघ र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *