सहकारीमार्फत वित्तीय साक्षरतालाई व्यापक बनाऔ : जि.सी.

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका–७ रेशमा २ दिने वित्तीय साक्षरता तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय तथा रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि २ दिने वित्तीय साक्षरता तालिम बुधवारदेखि सुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी मार्फत सदस्यको जीवन परिवर्तनका लागि वित्तीय साक्षरता अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

सहकारीहरुले शेयर सदस्य र उनीहरुका परिवारका सदस्यलाई वित्तीय साक्षरता प्रदान गरी आम्दानी बढाउन तथा खर्च घटाएर वचत गर्न प्रेरित गर्नु पर्दछ, खर्च घटाउनका लागि खानपानको शैलीमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । गाउँघरमा समेत बजारमा उपलब्ध प्याकिङ भएका खानेकुरा खाने प्रचलन बढेको भन्दै उहाँले घरमा बनेका कुरा खाएर स्वास्थ्य र पैसा बचाउन सुझाव दिनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछानेले आम्दानी कसरी बढाउने, खर्च कटौती गरी आम्दानी भएको रकम कसरी वचत गर्ने र बचत कस्तो संस्थामा गर्ने भन्ने विषयमा पनि सचेतना आवश्यक रहेको बताउनुभयो । आम्दानी गरेको रकम वचत गर्दा संस्था कस्तो हो, कसले सञ्चालन गरेको हो, कसरी सञ्चालन गरेको छ भन्ने नबुझि वचत गर्नाले समस्या हुने भन्दै उहाँले सचेत भएर वचत गर्न समेत आव्हान गर्नु भयो ।

वडा कार्यालयले वित्तीय साक्षरतासगै आयआर्जन बढाउने खालका विभिन्न गतिविधिहरु गर्दै आएको जानकारी गराउदै उहाँले उद्यमशिलता प्रवद्र्धनका लागि व्यक्तिको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, नेकपा एमाले रेशका सचिव रामचन्द्र शर्मा लगायतले सहकारीमार्फत आयआर्जन र वचतका लागि नियमित शिक्षा, तालिम र सचेतना आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष उजेली शर्माको अध्यक्षता, उपाध्यक्ष सीता थापाको स्वागत र प्रवन्धक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *