सहकारीका सदस्यहरुलाई सचेतना गर्न जिल्ला संघ म्याग्दीको आव्हान

आदर्श अनलाइन, म्याग्दी
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले सहकारीका शेयर सदस्यहरुलाई अनिवार्य रुपमा सचेतना प्रदान गर्न जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरुलाई आव्हान गरेको छ ।

केही सहकारीहरुमा आएको तरलताको समस्याका कारण आम सहकारीहरुलाई समस्या आउने गरी विभिन्न माध्यमबाट प्रचार प्रसार भइरहेको र सदस्यहरु यतिबेला तरंगित भएको भन्दै जिल्ला सहकारी संघले जिल्लाका सबै सहकारीहरुलाई संस्थामा रहेको शिक्षाकोष परिचालन गरी अनिवार्य रुपमा सहकारी सचेतना प्रदान गर्न आव्हान गरेको हो ।

राष्ट्रिय सहकारी महासंघको आव्हानमा सञ्चालित आन्दोलनको कार्यक्रमका बारेमा छलफल गर्न शनिवार आयोजित भेलाले सबै सहकारीहरुले आफ्ना सदस्यहरुलाई वर्तमान अवस्थाको बारेमा सचेतना प्रदान गर्नुका साथै संस्थाको यथार्थ अवस्थाबारे जानकारी गराएर सदस्यहरुलाई ढुक्क हुने वातावरण बनाउने निर्णय गरेको हो ।

भेलामा सहभागी सहकारीकर्मीहरुले सहकारी समस्या समाधान सहजीकरण तथा सहकार्यलाई साथ दिदै अगाडी बढ्ने निर्णय गरेका छन् । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको भेलाले सहकारी समस्या समाधान सहजीकरण कार्यदलले दिएको सुझाव राज्यको तर्फबाट सुनुवाई नभए पछि राष्ट्रिय सहकारी महासंघले थालेको आन्दोलनलाई अगाडी बढाउने समेत निर्णय गरेको छ ।

भेलाले म्याग्दी जिल्ला स्थित सहकारी संस्थाहरुमा समस्या परेको भए त्यस्तो समस्या समाधानका लागि अनुगमन, छलफल गर्ने समेत निचोड निकालेको छ । राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले पेश गरेको १३ बुँदे मागपत्र प्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनका कार्यक्रमहरुमा अगाडी बढ्ने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
भेलाले जिल्ला स्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र समेत गठन गरेको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष प्रेम बहादुर कार्कीको संयोजकत्वमा गठन भएको संयन्त्रमा जिल्ला सहकारी संघका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, भुपु सैनिक बचत तथा ऋण सहकारीका बालकृष्ण सुवेदी, बुद्ध बहुउद्देश्यीय सहकारीका प्रमोद श्रेष्ठ, धवलागिरी बचत तथा ऋण सहकारीका अमृतलाल श्रेष्ठ, मुक्तिनाथ बहुउद्देश्यीय सहकारीका लिलाराम गौतम, बेनी बचत तथा ऋण सहकारीका रमेश गिरी सदस्य रहनुभएको छ । त्यसैगरी अन्य सदस्यहरुमा पश्चिम नेपाल बचत तथा ऋण सहकारीका भीमप्रसाद गौतम, दिदीबहीनी बचत तथा ऋण सहकारीकी बिष्णु गौतम, नारी जागृति सहकारीकी चिना बानियाँ, मिलन बचत तथा ऋण सहकारीकी तिलकुमारी राना, कुमारी बहुउद्देश्यीयका डिलबहादुर थापा मगर र संगिनी बचत तथा ऋण सहकारीकी तेजकुमारी बानियाँ सदस्य रहनुभएको छ ।

भेलाले जेठ १४ गते केन्द्रीय कार्यक्रम अनुरुपको जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *