इमेजको समस्या समाधान गर्न सहकारी रजिष्ट्रारलाई जिल्ला सहकारी संघ बागलुङको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको रकम फिर्ता गर्न प्रभावकारी प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालको ध्यानाकर्षण गराएको छ ।

संघका तर्फबाट सञ्चालक जगन्नाथ सापकोटाले आइतवार ध्यानाकर्षण पत्र बुझाउदै बचतकर्ताको रकमको सुरक्षणका लागि आवश्यक कानुनी प्रक्रियालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउन माग गर्नु भएको हो ।

जिल्ला सहकारी संघले बचतकर्ताहरुको रकम जोखिममा पारेर सञ्चालकहरु सम्पर्क विहिन भएको भन्दै सञ्चालकहरुको खोजी गरी कानुनी कार्वाही अगाडि बढाउन समेत माग गरेको छ ।

जिल्ला सहकारी संघको ध्यानाकर्षण पत्र बुझेपछि सहकारी रजिष्ट्रार रोशन अर्यालले बचतकर्ताहरुको बचतको सुरक्षणका लागि रजिष्ट्रारको कार्यालय सचेत रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराउनुभयो ।

बचतकर्ताहरुको उजुरीपछि कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको पहिचान गर्नुका साथै सहकारीको कार्यालय सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई र आवश्यक खोजी प्रक्रिया अगाडि बढाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

इमेज सहकारी संस्थाको समस्या समाधानमा जिल्ला सहकारी संघ लगायत सहकारी अभियानका तर्फबाट भएको समन्वय र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले संकटको यो घडिमा सबैलाई संमयताका साथ समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

हाम्रो पहिलो प्राथमिकता बचतकर्ताहरुको बचत फिर्ता गराउने हो, अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउन आफुहरु प्रतिवद्ध रहेको रजिष्ट्रार अर्यालले बताउनुभयो ।

बागलुङमा पछिल्लो समय इमेज र शिवशिखर सहकारीका कारण बचतकर्ताहरुको करिव २ अर्ब रकम जोखिममा परेको छ । बचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समितिले शनिवार जिल्ला सहकारी संघलाई सहजीकरणका लागि अनुरोध गरेको थियो ।

जिल्ला सहकारी संघले शनिबार नै वैठक बसी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको ध्यानाकर्षण गराउने निर्णय गरेको र संघका तर्फबाट आइतवार सञ्चालक जगन्नाथ सापकोटाले रजिष्ट्रार अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र बचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गर्दै आएको र आगामी दिनमा पनि बचतफिर्ताका लागि सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष जिसीले व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *