सेनाको अगुवाइमा विकट गाउँमा स्वास्थ्य शिविर


अमृत बास्कुने, म्याग्दी

नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक र बेनी अस्पतालको संयुक्त आयोजनामा म्याग्दीको विकट मानिने चिमखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाली सेनाका क्याप्टेन डाक्टर दिपेन्द्र पौडेल, बेनी अस्पतालबाट डाक्टर रामु सापकोटा, डा.अनिता वाइवा, डेण्टल डाक्टर अस्मीता कटुवाल, सल्य चिकित्सक डा. परिवर्तन बराल, अर्थोपेडिक डाक्टर सुमन सुवेदी सहितको टोली सहभागी थियो ।

ग्रामिण भेकमै जनतालाई विशेषज्ञ सेवा दिने हेतुले उक्त शिविरको व्यवस्थापन भएको बेनी अस्पतालका डाक्टर रामु सापकोटाले बताउनुभयो । नेपाली सेना र बेनी अस्पतालले सहकार्य गरेर अयोजित शिविरमा रक्तचाप, सुगर, हाडजोर्नीका बिरामीहरुको समस्या निधानका लागि प्रयास गरिएको थियो ।

रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित शिविरमा मेडिकल ओ.पि.डि., अर्थोपेडिक ओ.पि.डि., सर्जिकल ओ.पि.डि. र डेण्टल ओ.पि.डि. का सुविधाहरु प्रदान गरिएको नेपाली सेनाको शत्रुभञ्जन गुल्मका गुल्मपती शसांकराज अर्यालले बताउनुभयो । ग्रामिण भेकमा रहेका अधिकांश बालबालिका तथा जेष्ठ नागरिककहरुले शिबिरबाट सेवा लिनु भएको थियो । शिविरमा सेवा लिनेमध्ये ६० प्रतिशत नागरिकहरु ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु रहेको उहाँको भनाई थियो । चिमखोलामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट दुई सय २३ जना सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा निःशुल्क रुपमा स्वास्थ्य परीक्षणका साथै सबै प्रकारका औषधी समेत निःशुल्क रुपमै वितरण गरिएको थियो । शिविरबाट रघुगंगा गाउँपालिका ७ चिमखोला सहित ६ पाखापानी एवम् ४ दग्नाम र ५ झिँ सम्मका नागरिकले सेवा लिएका थिए ।

विभिन्न समयमा नेपाली सेना तथा अन्य सरोकारवाला निकायहरु सँगको सहकार्य र संयोजकत्वमा संचालन हुने जनपक्षिय कार्यक्रमले स्थानियलाई सेवा सुविधा प्रदान गर्नुको साथ साथै सैनिक र नागरिक सम्बन्धलाई प्रगाढ बनाउने गुल्मपती अर्यालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *