बेनी अस्पतालको सेवाप्रति गुनासो

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बीमा गरेका बिरामीलाई बेनी अस्पतालमा दोश्रो दर्जाको व्यवहार गर्ने गरेको गुनासो गर्नुभएको छ । स्वास्थ्य बीमाको सेवा लिन बेनी अस्पतालमा जाँदा त्यहाँका चिकित्सक तथा कर्मचारीले बिमितलाई अलिक फरक व्यवहार गरेको उहाँको गुनासो थियो ।
उहाँले भन्नुभयो –‘मैले पहिला पनि सेवाको बारेमा प्रश्न उठाएको थिएँ र हिजो मात्रै म सेवा लिन जाँदा पनि त्यस्तै व्यवहार भोग्नु प¥यो ।’ नगरपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति योजना तथा कार्यक्रमका लागि सुझाव संकलन तथा चालु आर्थिक वर्षको अन्तिम चौमासिकसम्म भएका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाईका क्रममा केसीले उक्त गुनासो गर्नुभएको हो ।

सर्वसाधारणले गरेको प्रश्नको जवाफ दिँदै केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएकोले कालीगण्डकी नदिको शिलालाई अयोध्यामा रामलला बनाउनका लागि पठाएको र त्यो शिलाबाट भगवानको प्रतिमा बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

पर्यटकीय क्षेत्रमा स्थानीय व्यवसायीहरुले जिल्ला भित्रभन्दा बाहिर लगानी गरेको भन्दै उहाँले आफ्नै जिल्लामा लगानी गरेको खण्डमा जिल्लाको ब्यापार बढ्नुका साथै पर्यटन आगमन सँगै चहलपहल पनि बढ्ने भन्नुभयो । जिल्लाकै व्यवसायीहरुले पर्यटक भित्राउने तर्फ ध्यान दिने भन्दा पनि अन्य जिल्लामा लगानी गर्ने गरेकोले जिल्ला पछाडी परेको हो कि भन्ने उहाँको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जिल्ला भित्रका स्थायी तथा अस्थायी रुट कायम भएका सडकहरुको बैज्ञानीक तबरले भाडादर निर्धारण गरिएको बताउनुभयो । उहाँले बागलुङ–बेनी सडक, बेनी–दाना सडक तथा बेनी दरवाङ सडकमा पनि उचित भाडादर निर्धारण गरिएको भन्नुभयो । कालिगण्डकीको शिला भारत पठाएको भन्ने प्रसंगमा प्रजिअ पौडेलले नेपाल सरकारको निर्णय अनुरुप गण्डकी प्रदेश सरकारले जानकी मन्दीरलाई शिला उपलब्ध गराएको र जानकी मन्दीरले भारतको अयोध्या निःशुल्क रुपमा शिला पठाएको बताउनुभयो ।

बेनी नगरपालिकाले अयोजना गरेको सार्वजनिक सुनुवाईको खुल्ला सत्रको समन्वय पत्रकार महासंघ म्याग्दीका पूर्व उपाध्यक्ष ठाकुरप्रसाद शर्मा, सदस्य कमल खत्री र पत्रकार राकेश शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा, बेनी नगरपालिकाका पूर्व प्रमुख तथा उपप्रमुख लगायतको उपश्थिति रहेको थियो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकाको कुल बजेट ७९ करोड १८ लाख १३ हजार रहेकोमा हालसम्म समग्रमा ६८ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *