सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण कार्यक्रमको शुभारम्भ

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले दुर्घटना न्यूनिकरण गर्न चालक, यात्रु र सडक प्रयोग कर्ताले पूर्ण रुपमा ट्राफिक नियमको पालनमा गर्नु पर्ने बताउनु भएको छ ।

मंगलबार काठेखोला गाउँपालिका–२ अक्षतेमा आयोजित सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ट्राफिक नियमको उल्लङ्घनकै कारण दुर्घटना हुने गरेको बताउनुभयो ।

ग्रामीण सडकलाई व्यवस्थित बनाउनका लागि आफू प्रतिबद्ध रहेको भन्दै चालकले यात्रा गर्नु पूर्व गाडीको पार्ट पूर्जा राम्रोसँग चेक जाँच गर्ने र क्षमताभन्दा बढी सवारी हाल्न नहुनेमा जोड दिनुभयो । सडक, सवारी साधान र चालकको लापरवाहीका कारण थुप्रै दुर्घटनाहरु भएको भन्दै सडकमा यात्रा गर्ने जतिले ‘सडक अनुशासन’लाई पालना गर्नु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा काठेखोला गाउँपालिका–२ का अध्यक्ष विद्यापति शर्मा, स्थानीय विदुर भण्डारी लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रम बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षता जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीको स्वागत र प्रहरी सई दिपकबाबु थापाको संचालनमा सम्पन्न भएको थियो ।

मंगलबारदेखि सुरु भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम ११ गतेसम्म संचालन हुने छ । यस अवधीमा ग्रामीण क्षेत्रमा संचालन हुने सवारी साधानको चेक जाँच, चालक प्रशिक्षण लगायतका कार्यक्रम संचालन हुने जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *