सहकारीको ऋण नतिर्नेलाई कारबाही हुन्छ : रजिष्ट्रार घिमिरे

आदर्श अनलाइन, बागलुङ
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार पोखरामा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानुनी कारबाही गरिने बताउनु भएको हो ।

मुलुकमा कानुन छ, कानुन भएको मुलुकमा सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने कुरा गलत हो, यस्ता खालका अराजकतालाई कानुन अनुसार कारबाही हुन्छ, ऋणीको जग्गा तथा उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत सम्पत्ती विक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था भएकाले ऋण नतिर्ने छुट कसैलाई पनि नभएको घिमिरेको भनाइ छ । सहकारीमा राखेको धितो वा धितो नराखेको भए पनि ऋणी र उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत विक्री गरेर ऋण तिराउने व्यवस्था सहकारी ऐनमा रहेको उहाँले बताउनुभयो ।

सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएको पछिल्लो समयको समस्या वित्तीय संकटका कारण आएको भन्दै उहाँले सहकारीलाई नियम अनुसा सञ्चालन नगर्ने केही सहकारीहरुका कारण समेत देशभरका असल सहकारीहरुलाई समेत तरलता समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।

सहकारीका नाममा निजी सम्पत्ती जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर बचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कारबाही गरी बचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको उहाको भनाइ थियो ।

प्रभावकारी नियमन हुन नसकेका कारण सहकारीहरुले वित्तीय अनुशासन पालना नगरेको चर्चा गर्दै उहाँले सहकारीहरुलाई ऐन अनुसार सञ्चालनका लागि विभागले खबरदारी गर्ने बताउनुभयो ।

सहकारी राम्रोसंग चलाउदै गर्दा वित्तीय क्षेत्रको संकटका कारण तरलता समस्या भएका सहकारीहरुले श्वेतपत्र जारी गरेर बचत फिर्ताका लागि समय तोक्न सक्ने व्यवस्था गरिएको छ । सहकारीको रकमबाट निजी सम्पत्ती जोड्न प्रयोग गर्नेहरुलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका तालिम अधिकृत राजकुमार बरालले सहकारीको वर्तमान अवस्था तथा भावी कार्यक्रम विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालन र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको स्वागतमा सम्पन्न भएको थियो ।

सो अवसरमा बैंकले प्रदान गर्ने विभिन्न विधामा उत्कृष्ट हुने सहकारी संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमको सहजीकरण बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक माधवलाल देवकोटाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *